धरान / प्रदेश नं. १ को सरकार गठन भईसकेको छ । भोजपुरबाट प्रदेशसभा सदस्यमा विजयी भएका नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा प्रदेश सहसंयोजक शेरधन राई मुख्य मन्त्रिमा नियुक्त भए पछि सरकार गठनको प्रक्रिया शुरु भएको हो । सुनसरी राष्ट्रिय राजनीतिकमा पहुच नभएको गुनासो चलिरहेका बेला सुनसरीबाट सभामुख, उपसभामुख, प्रतिपक्ष दलका नेतादेखि मन्त्रिमण्डल गठन हुँदासम्म सुनसरीको बर्चस्व देखिएको छ ।

प्रदेश १ को प्रमुख मात्र हैन सभामुख, उपसभामुख अनि प्रतिपक्षी दलको नेतासमेत एकै जिल्लाका बनेका छन् । मुख्यमन्त्री भने थोरै मतान्तरका कारण सुनसरीका उम्मेदवारले अवसर पाएनन् । मुख्यमन्त्रीका लागि पनि सुनसरीका भीम आचार्य एमाले संसदीय दलको नेतामा चुनावी मैदानमा उत्रिएका थिए । पार्टीको प्रदेश इन्चाजसमेत रहेका आचार्यलाई सह–इन्चार्ज शेरधन राईले २ मतान्तरले पराजित गरेका थिए । तर अन्य अधिकांश मुख्य पदमा सुनसरी जिल्लाकै आएका छन् ।

लामो समयसम्म शिक्षण पेसामा रहेका धरान १३ का प्रदिपकुमार भण्डारी प्रदेश १ को सभामुख बनेका छन् । सुनसरी क्षेत्र १ को क बाट प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारी एमाले सुनसरीका सचिवालय सदस्य तथा धरान इन्चार्ज हुन् । उनको जिल्लाको राजनीतिमा ठूलो लगानी रहेको छ । सुनसरीकै सरस्वती पोखरेल उपसभामुख बनेकीछिन । सुनसरी घर भएकी पोखरेल २०३२ सालमा प्युठानमा जन्मिएकी हुन् । २०४६ सालदेखि राजनीतिमा लागेकी उनी समाजशास्त्रमा स्नातकोत्तर छिन् । ०५८ सालदेखि माओवादी जनयुद्धमा लागेकी उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सुनसरी जिल्ला संयोजक हुन् । पोखरेल समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी हुन् ।
यस्तै भरखरै कांग्रेस सुनसरीका सभापति राजीब कोइराला प्रमुख प्रतिपक्षी दलको नेता चयन भए । प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा कोइराला निर्विरोध चयन भएका हुन् । सुनसरी २ खबाट प्रदेशसभा सदस्यमा निर्वाचित कोइरालाको स्थायी घर इनरुवा नगरपालिका हो ।
प्रदेश १ को पाँच सदस्यीय मन्त्रिमण्डलमा एक जना सुनसरी कै छन् । उद्योग, पर्यटन तथा वातावरण मन्त्री जगदिश कुसियैत सुनसरी क्षेत्र ४ क बाट विजयी भएका हुन् । कोशी गाउँपालिका निवासी कुसियैत एमालेका केन्द्रीय सदस्य पनि हुन् । यस्तै एमालेका प्रदेश कमिटी सदस्य तथा इटहरी नगरपालिकाका पूर्व मेयर सर्वध्यज साँवा पनि मन्त्रि बन्ने चर्चा चल्दै आएको छ । उनी इटहरी उपमहानगरका स्थायी वासिन्दा सुनसरी क्षेत्र २ क बाट विजयी भएका हुन ।
शेरवहादुर देउवा सरकारले प्रदेश प्रमुख नियुक्त गरेका गोबिन्दबहादुर तुम्बाहाङको स्थायी घर धनकुटा भए पनि उनको कर्मथलो सुनसरी नै हो । लामो समयसम्म धरानमा प्राध्यापन पेसामा संलग्न तुम्बाहाङ धरान नगरपालिका प्रमुखमा कांग्रेसका तर्फबाट उम्मेदवार भई ध्यानबहादुर राईसँग पराजीत भएका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री शेधरधन राई भोजपुरका हुन् भने आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की झापाका हुन् । आर्थिक मामिला तथा योजना मन्त्री माओवादी केन्द्रबाट इन्दबहादुर आङबो पाँचथरका हुन् भने सामाजिक विकास मन्त्री जीवन घिमिरे मोरङका स्थायी बासिन्दा हुन् । माओवादी केन्द्रको संसदीय दलको नेतामा भने ताप्लेजुङका टंक आङबुहाङ चयन भएका छन् ।

प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमा सबैभन्दा बढी मोरङ जिल्लाबाट २३ जना सदस्य परेका छन् । प्रत्यक्ष निर्वाचनबाट १२ जना आएका हुन् भने अन्य समानुपातिकाबाट सदस्य बनेका हुन् । यसैगरी, झापा जिल्लाबाट १६ जना सदस्य छन् । यो जिल्लाबाट प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ६ जना सदस्य छन् । सुनसरीबाट प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ६ जना छन् । उदयपुरबाट ७, धनकुटाबाट ५ जना सदस्य छन् । इलाम, ताप्लेजुङ, पाँचथर र संखुवासभाबाट ४र४ जनाको प्रतिनिधित्व प्रदेश सभामा छ । भोजपुर र खोटाङवाट ३र३ जना र तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगाबाट प्रत्यक्षतर्फका २र२ जना सदस्यमात्र छन् ।