काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि खुला दरखास्त आह्वान गरेको हो ।

विश्वविद्यालयले आज एक सूचना जारी गर्दै कुलपतिबाट रिक्त उपकुलपति नियुक्त गर्न त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १८ को उपदफा ९२० अनुसार गठित सिफारिस समितिबाट स्वीकृत कार्यविधि २०८० अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दश दिनभित्र दरखास्त पेस गर्न भनिएको छ ।

दरखास्त सिंहदरवारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र पेस गर्नुपर्नेछ । दरखास्तमा शैक्षिक, वैयक्तिक विवरणसहित सोचपत्र, चार वर्षे व्यावसायिक कार्ययोजना बुझाउनुपर्नेछ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै मेरिटका आधारमा उपकुलपति छनौट गर्ने घोषणा गर्नु भएको थियो । 

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री प्रचण्डको घोषणा कार्यान्वयन गर्दै सिफारिस समितिले योग्यता र अनुभवका आधारमा विश्वभरी रहेका नेपाली नागरिकबाट उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो ।