धरान / नेपाली कांग्रेसले उधौली (साकेला, चासोक तङनाम, फोल ष्यांदर, चासुवा र भुजेली) पर्व, यमरी पुन्ही, धान्य पूर्णिमा र गोठ पूजा मनाएको छ । नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीका सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरी मंसिरे पुर्णेमा एकैदिन पर्ने उपरोक्त चाडपर्वहरुलाई कांग्रेसले मनाएको हो ।

जातिय संस्थाका प्रतिनिधित्व गर्दै बोल्ने वक्ताहरुले नेपाली कांग्रेसले विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्वीरुको मौलिक पर्वहरुलाई पहिलोपल्ट सम्बनिधत जाति समुदायलाई निमन्त्रणा गरी मनाएर इतिहास रचेको बताए । प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व प्रदेश मन्त्री प्रदिपकुमार सुनुवारले नेपाली कांग्रेसको क्षेत्रीय समितिले धरानवाट शुरुवात गरेको यो कार्यक्रमको सन्देशले आगामी दिनमा मुलुकभर मनाउने परम्परा बस्ने बताउनु भयो । क्षेत्रीय सभापति तामाङले हरेक नेपालीको मौलिक एवम् परम्परागत चाड, पर्व, उत्सव, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्ने दायित्व दलहरुको पनि भएको भन्दै यसैका लागि कार्यक्रम गरिएको भन्दै यसलाई निरन्तरता दिने बताउनु भयो । 

कार्यक्रममा गायिका ज्योति सुनुवारले गीत समेत गाएर कार्यक्रमको रौनक बढाउनुका साथै मनोरञ्जन दिलाउनु भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व प्रदेश मन्त्री प्रदिपकुमार सुनुवार, जिल्ला उपसभापति नगेशचन्द्र राई, जिल्ला सचिव माधव घिसिङ, प्रदेश सांसद ममता तामाङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला, किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राई, केन्द्रीय सदस्य मानभगत चाम्लिङ, जिल्ला अध्यक्ष राजेन्द्र राई, किरात याक्खा छुम्माका केन्द्रीय सचिव हेमराज जिमी, नगर अध्यक्ष पञ्चमाया तामली, भुजेल समाज सेवाका वरिष्ठ केन्द्रीय उपाध्यक्ष राजकुमार भुजेल, जिल्ला अध्यक्ष रवि भुजेल, सुनुवार सेवा समाजका नगर अध्यक्ष गोपाल सुनुवार, नेपाली कांग्रेसका धरान नगर सचिव जितेन्द्र राई, नेपाल तरुण दल केन्द्रीय सदस्य प्रेमकुमार राई, नेवा देय दवूका प्रदेश सल्लाहकार राजीव हल्लुवाई लगायतको उपस्थिति तथा शुभकामना मन्तव्य रहेको थियो ।