विराटनगर / नेपाल प्रेस कोशी प्रदेश समितिले १४ वटै जिल्लामा पत्रकारको क्षमता विकासका लागि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । 

प्रदेश अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा शनिबार विराटनगरमा बसेको बैठकले पत्रकारहरूको विधागत क्षमता विकासका लागि केन्द्रसँग समन्वय गरी जिल्ला शाखाहरूमार्फत १४ वटै जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो । पछिल्लो समय पत्रकारिता विधागत रुपमा अगाडि बढिरहेकाले सोहीअनुसार पत्रकारहरूको पनि क्षमता विकास गर्नु जरुरी देखेर प्रदेशका सबै जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको अध्यक्ष नवोदितले जानकारी दिए । त्यस्तै बैठकले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई प्रेस युनियनको पक्षमा पार्नका लागि युनियनमा आबद्ध पत्रकारहरूको सदस्यता प्राप्तिका लागि महासंघ प्रदेश समितिबाट केन्द्रीय समितिमा सिफारिस भएका नामावली माग गरी युनियनमा आबद्ध पत्रकारको पक्षमा न्यायोचित कदम चाल्न जिल्ला समितिसँग समन्वय गरी प्रभावकारी कदम अगाडि बढाउने निर्णय गरेको छ । 

युनियनका सचिव विनय बाह्रकोटीका अनुसार नयाँ वर्ष २०८१ का अवसरमा भित्तेपात्रो (क्यालेण्डर) प्रकाशनका लागि कोषाध्यक्ष कविराज घिमिरेको संयोजकत्वमा आशिष यादव र चुमन बस्नेत सदस्य रहनेगरी प्रकाशन समितिसमेत गठन गरेको छ । सोही बैठकले नेपाल प्रेस युनियनमा आबद्ध जिल्ला तथा प्रदेश शाखाका गतिविधि समेटिएको स्मारिका २०८२ सालभित्र प्रकाशन गर्ने गरी अध्यक्ष नवोदितको संयोजकत्वमा ज्ञानेन्द्र निरौला, संजिव वाग्ले, सरला रेग्मी, सुजन ब्रजाचार्य र नरेन्द्र राई सदस्य रहेको समिति गठन गरेको छ । 

पछिल्लो समय श्रमजीवि पत्रकारको श्रमशोषण तथा जागिरबाट निकाल्ने गतिविधि भइरहेको प्रति युनियनको बैठकले खेद व्यक्त गरेको सचिव बाह्रकोटीले जानकारी दिनु भयो । त्यस्तै तत्कालै जिल्लागत रुपमा पीडित पत्रकारहरूको विवरण संकलन गरी पुनःबहाली तथा श्रमअनुसारको पारिश्रमिक प्राप्तिका लागि युनियनले खबरदारी गर्ने भएको छ ।