काठमाडाै / नेकपा (एमाले) ले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का उपलब्धि आज सार्वजनिक गरेको छ । 

बैतडीको झुलाघाटबाट गत मङ्सिर १४ गते सुरु भएको उक्त यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो । साे यात्राकाे उपलब्दि र अनुभव आदनप्रदान गर्न पत्रकार सम्मेलन गरिएकाे हाे ।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज आयोजित पत्रकार सम्मेलनमा यात्राले पार्टी, कार्यकर्ता र स्थानीय जनतामा उत्साह देखिनुका साथै विकास, समृद्धि तथा राष्ट्रियतालाई जोड्न महत्वपूर्ण उपलब्धि हासिल गरेको बताइएकाे थियाे । 

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप उक्त अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग, विज्ञहरूसँग छलफल भएको जनाइएको छ । 

अभियानका क्रममा पहाडबाट भइरहेको तीव्र बसाइँसराइको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्धनमा सहयोग, मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतका सम्भावना बुझ्न सहयोग मिलेको एमालेका महासचिव शङ्कर पोखरेलले पत्रकारहरूलाई जानकारी गराइएकाे थियाे । 

उक्त यात्रामा एमालेका शीर्ष नेतृत्व, केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोलीको सहभागिता थियो ।