धनकुटा /  पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पारम्परिक कृषिलाई प्रविधि र मूल्य शृङ्खलासँग जोडेर काम गरे बजारको अभाव नहुने सुझाव दिनुभएको छ ।

बैतडीको चिवाघाटबाट पाँचथरसम्मको सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गबाट भोजपुर हुँदै धनकुटा आइपुग्नुभएका अध्यक्ष ओलीले यस्तो सुझाव दिनुभएको हो । यात्राका क्रममा पाख्रिबास नगपालिका आइपुग्नुभएका ओलीले नगरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसका विद्यार्थीसँग अन्तक्र्रिया गर्नुभएको थियो ।

नेकपा एमाले जिल्ला कमिटी धनकुटाले आयोजना गरेको सो कार्यक्रममा धनकुटाको कृषि क्षेत्रको समस्या र अवस्थाका बारेमा क्याम्पसका प्रमुख निराजन भण्डारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा भण्डारीले धनकुटाको कृषि तथा दुग्धजन्य बजारले भारतसँग प्रतिष्पर्धा गर्न नसकेकाले भारतीय कृषि उपज बन्द गर्न मागसमेत गर्नुभएको थियो ।

सागलाई गुन्द्रक बनाएर महँगोमा बेच्न सकिने आधार दिँदै अध्यक्ष ओलीले अन्य कृषि उपजलाई पनि बजारको मागअनुसार तयारी गरेर बेच्न सुझाव दिनुभयो । त्यसका लागि राज्यले वास्तविक किसानलाई पहिचान गरेर अनुदान दिने र कृषिलाई प्रविधिसँग जोडेर लानुपर्ने उहाँको भनाइ थियो । “पढेर पासपोर्ट बनाएर विदेश होइन, यहीँ केही गर्र्नू । टिपेर ल्याउन विदेशमा सुन फलेको छैन”, उहाँले भन्नुभयो, “अलि ढिलो होला तर दुःख गरे यहीँ धनी हुन सकिन्छ ।”

आज भोजपुरबाट महालक्ष्मी नगरपालिकाको लेगुवा बजारबाट सुरु भएको सङ्कल्प यात्रा पाख्रिबास नगरपालिकाको पाख्रिबास बजार, धनकुटा नगरपालिकाको हिले बजार, छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजार हुँदै टोली तेहथुमको वसन्तपुर पुगेर आमसभामा सहभागी हुनु भएको छ ।