बैतडी । नेकपा एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म सुरू गरेकाे‘मध्यपहाडी लोकमार्ग संकल्प यात्रा’ आजबाट सुरू भएकाे छ  । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नु भएकाे छ ।

अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर संकल्प यात्रा शुभारम्भ गरिएकाे हाे । उद्घाटन गर्दैं अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्न अभियान थालिएको बताउनु भयाे। राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उहाँले बताउनु भयाे ।

संकल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागिएको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ । आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता–कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशीका अनुसार झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा मध्यपहाडी लोक मार्गमा तीन सातासम्म चल्ने छ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब १,८७९ किलोमिटर रहेको छ । पुस २ गते पाँचथरको चिवा झञ्ज्याङमा पुगेर यात्रा समापन हुने सुदूरपश्चिम अध्यक्ष जैशीले जानकारी दिनु भएकाे छ ।

यस यात्राले मुलुकको समृद्धि, सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गरिने भएको छ । यसैबीच प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्व र सान्दर्भिकता दर्शाउने  कार्यक्रम रहेकाे छ ।