• रणध्वज लोहार 

धरान । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानमा रहेको छ ।

धरानमा विक्रम संवत २०४१ सालमा ट्राफिक प्रहरी कार्यालय स्थापना भएको हो ।चार दशक लामो इतिहाँस बोकेको जिल्लाकै नेतृत्व गर्ने ट्राफिक प्रहरी कार्यालयको अहिले सम्म स्थायी भवन बन्न सकेको छैन ।

वर्षौदेखि धरान –८ स्थित बाघ महलमा दुई दशक भन्दा अघि निर्माण गरिएको पुरानो जीर्ण अवस्थाको भवनमा  भाडा तिरेर ट्राफिक प्रहरीहरु बस्न वाध्य छन् । हाल सडक व्यवस्थापन र सडक सुरक्षाको निम्ति अहोरात्र खटिने प्रहरीहरु हाल धरानमा २७ जना कार्यारत छन् ।

एक जना प्रहरी निरिक्षक प्रमुख रहने गरि जम्मा २७ जना प्रहरी छन् । बाघ महलमा वर्षौदेखि वस्दै आइरहेका छन् । पाँच दशकभन्दा अघि निर्माण गरिएको भवन पनि जीर्ण अवस्थामा छ । जम्मा उक्त भवन तीन तलको रहेको छ ।

प्रहरीका लागि ४ वटा कोठामा मात्र सुत्नको लागि व्यवस्था छ भने ४ वटा कोठा कार्यालय व्यवस्थापन र एक कोठो मेसको लागि व्यवस्था छ ।

जीर्ण अवस्थाको भवनको संरचनामा बस्दा कठिनाई भइरहेको ट्राफिक प्रहरीको गुनासो छ । अढाई दर्जनभन्दा बढी प्रहरीहरु राती सु्त्न पनि समस्यामा छन् । ट्राफिक प्रहरी निरिक्षक एवम् प्रमुख सुवास केसीले समस्या त छदै नै छ, तर घर धनीबाट पनि घर खाली गर्नको लागि पटक–पटक दबाब सहनु परेको गुनासो पोख्नु भयो ।

उहाँले भन्नु भयो,‘हामीलाई यहाँ वसेर ड्युटी गर्नको लागि त कठिनाई नै भोगिरहेका छौ,त्यसमाथि घरधनीबाट पनि घर खाली गर्नको निम्ति दबाब आइरहेको छ,यो समस्या धरानले चाँडै समाधान गर्न पर्छ ।’उहाँले भन्नु भयो,‘म भखरै आएको छु,म आफु पनि धरानको लागि स्थायी जग्गाको खोजी र त्यसको समाधानको निम्ति लागि परेको छु,भखरै मात्रै भवन निर्माण गर्नको लागि जग्गा पहल संवन्धमा जिल्ला प्रहरी कार्यालय मार्फत मातहतको कार्यालयमा निवेदन दिएको छु तर यतिले मात्रै पुग्दैन यहाँको स्थानीय सरकार,राजनीतिक दल,सरोकारवाला र स्वयम् धरानवासी नै चनाखो हुनु पर्छ र पहलकदमी गर्न सक्नु पर्दछ। 

धरान ८ स्थित लाङघाली बनको कार्यालय परिसरमा जम्मा ५ कठ्ठा जग्गा नाप जाँच भएको छ र सोही जग्गाको लागि निवेदन पनि मातहतका निकायलाई दिएको वताउनु भएको छ ।उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय मार्फत सिडियो कार्यालय र माथिल्लो निकाय सम्म निवेदन दिइएको छ । 

अहिले सम्म स्थायी रुपको कार्यालय स्थापना हुन नसक्दा जिल्लाकै रुपमा रहेकाले जुनसुकै समयमा इटहरी,इनरुवा अथवा अन्यत्रै सर्ने संभावना पनि उतिकै बढेर गएको छ ।धरानमा ट्राफिक प्रहरी कार्यालयको स्थायी भवनको लागि पहल कदमी स्थानीय सरकार र सरोकारवालाले पहल कदमी गरेपनि हाल सम्म ठोस उपलव्धी हुन सकेको छैन ।

स्थायी कार्यालय स्थापना गर्नको लागि सवैभन्दा पहिला जग्गा आवस्यक हुन्छ तर हाल सम्म जग्गाको कुनै ठोस निर्णय धरानले गर्न सकिरहेको छैन ।बेला–बेला जग्गाको खोजी र धरानबाट जिल्ला ट्राफिक कार्यालय अन्यत्र सर्ने भन्ने कुराको चर्चा धरानमा हुने गरेको छ । तर यसको लागि नेतृत्व तहबाट गरेको पहल कदमीले ठोस उपलव्धी हासिल हुन सकिरहेको छैन ।

यसर्थ अव धरानबाट जिल्लाकै रुपमा रहेको ट्राफिक प्रहरी कार्यालय अन्यत्र सर्न सक्ने संभावना वढेर दिनानु दिन गइरहेको सरोकारवालाहरुले वताएका छन् ।

सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठले अहिले सम्म जग्गाको स्थायी रुपमा व्यवस्थापन हुन नसक्नु दुखदायी भएको र अव पनि ठोस उपलव्धी सहित जग्गाको व्यवस्थापन गर्न नसक्ने हो भने जिल्ला ट्राफिक कार्यालय सुनसरी धरानबाट अन्यत्रै सर्ने संभावना वढेर गएकाले चिन्ता व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो,‘धरानमा चार दशक लामो इतिहाँस बोकेर ट्राफिक प्रहरी कार्यालय स्थपना भएको छ,तर अहिले सम्म स्थायी रुपमा भवन वनाएर ट्राफिक कार्यालय सन्चालन गर्न नसक्नु दुखदायी हो,स्थायी भवन हुन नसक्दा पनि अव जिल्लाकै रुपमा भएकाले यहाँबाट इटहरी,इनरुवा अथवा अन्यत्रै पनि सर्न सक्ने संभावना देखिदैछ।’

उहाँले स्थानीय सरकारको वेवास्ता र कमजोरीको कारण पनि अव धरानले दिनानु दिन समस्या भोग्नु पर्ने दिन आउने बताउनु भयो । 

जग्गाको लागि गरिएको प्रयास कानुनी जटिलता  

धरानमा नै स्थायी रुपको कार्यालय स्थापना गर्नको लागि वि।सं २०७९ सालदेखि पहल गरेको देखिएपनि अहिले सम्म ठोस उपलव्धी हासिल हुन सकेको छैन्।

धरान उपमहानगरपालिकाको तत्कालिन कार्य बाहक मञ्जु् भण्डारीको कार्याकालमा जग्गाको व्यवस्थापन गर्न भनेर धरान १५ स्थित घरेलु उद्योग मन्त्रालयको नाममा रहेको जग्गालाई ट्राफिक प्रहरीको भवन वनाउने भनेर निर्णय गरिएको थियो ।

उक्त जग्गा लगभग ६ कठ्ठा भए तापनि सडक विस्तार र सामुदायिक भवन वनाउँदा अहिले लगभग २ कठ्ठा जग्गा बाँकी रहेको छ तर कानुनी जटिलताका कारण उक्त स्थानमा भवन निर्माण गर्न कठिनाई भएको वताइएको छ । जग्गा पनि साँगुरो र घरेलुको नाममा जग्गा भएकाले ट्राफिक प्रहरी कार्यालयको नाममा ल्याउनको लागि कानुन जटिलता हुँदा त्यहाँ पनि भवन वन्न समस्या उत्पन्न भएको हो । 

धरान उपमहानगरपालिका सहित यहाँका राजनीतिक दल र सरोकारवालाहरुको पहलमा धरान ८ को तिनकुनेमा रहेको लाङघाली सामुदायिक वन परिसरमा रहेको जग्गा व्यवस्थापनको लागि पहल भएपनि त्यसको पनि कानुनी जटिलताहरुलाई पुरा गर्नु पर्ने देखिएकाले उपलव्धी हासिल हुन सकिरहेको छैन ।

वनको जग्गा भएकाले कानुनी र नीतिगत कुरा पुरा गरेर मात्रै ट्राफिकको स्वामित्वमा ल्याउनु पर्ने हुन्छ  । यी कानुनी जटिलताको लागि स्थानीय सरकार,राजनीतिक दल,सरोकारवाला निकाय लगायतले पहल कदमी चाँडो भन्दा चाँडो गर्नु पर्ने जरुरी छ ताकी धरानको इतिहाँस बोकेको ट्राफिक प्रहरी कार्यालय अन्यत्र सर्नु भन्दा यहाँ नै स्थायी बनाउनु पर्छ ।