चतरा । नेपालमै पहिलो पटक आयोजना गरिएको स्टोन स्किपिङ (पानी सुल्के) प्रतियोगिता बराहक्षेत्र नगरपालिकामा सम्पन्न भएको छ ।   

चतरा हाईकिङ ग्रुपको आयोजनामा मंगलबार  नगरपालिकाको वार्ड १ स्थित सुनसरी मोरङ्ग सिचाईं आयोजनाको चतरा नहरमा उक्त प्रतियोगिता भएको हो ।

प्रतियोगितामा स्थानीय राहुल लिम्बू पहिलो, राजेन्द्र कार्की दोश्रो र संचारकर्मी लक्षमण कटुवाल तेस्रो हुनु भएकाे छ ।

प्रथम बनेका राहुल लिम्बुले पहिलो चरण पार गरि दोस्रो चरणको सेटमा क्रमशः २३+२२+१४ गरि जम्मा ५९ अंक ल्याउन सफल भई बिजेता बन्नु भयाे । उहाँले एक पटकमा २३ पटक उफ्राई ल्याएको अंक कार्यक्रमकै सवै भन्दा बढि हो।

दोस्रो बन्नु भएका राजेन्द्र कार्कीले कुल ३० अंक ल्याउनु भयाे । तेस्रो बन्नु भएका लक्ष्मण कटुवालले २८ अंक प्राप्त गर्नु भयाे ।

कार्यक्रम दुई चरणमा खेलाइएको थियो। सहभागीले पहिलो चरणमा एकवटा ढुङ्गाले पानीमा कम्तीमा तीन पटक उफार्न सकेकाले मात्र दोस्रो चरणको खेलमा सहभागी हुन पाउने ब्यवस्था थियो। दोस्रो चरणमा पुग्ने खेलाडीलाई तीन वटा ढुङ्गा उपलब्ध गराएको थियो। पानीमा तीन पटक फालिएको उक्त ढुङ्गाको जम्मा उफ्राई जोडेर बिजेता घोषणा गरिएको थियो। 

उनीहरुलाई प्रमुख अतिथी बराहक्षेत्र नगरपालिका, वार्ड १ अध्यक्ष किसन थापा, बिशिष्ट अतिथीहरु वार्ड २ अध्यक्ष होम प्रसाद गौतम, वार्ड ५ अध्यक्ष रोहित काफ्ले, मुख्य निर्णायक ज्ञानबहादुर पांडेले प्रथम, दोश्रो र तेस्रो पुरस्कार स्वरुप नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसंगै प्रमाणपत्र र मेडल प्रदान गरिएको आयोजक हाईकिङ ग्रुपका सस्थापक तथा संयोजक भीषण राईले जानकारी दिनु भयाे ।

नेपालमा यस प्रकारको सम्भवत पहिलो पटक आयोजना गरिएको यो खेलले युवा सशक्तीकरण,मेलमिलाप र आपसी सदभाव बढाउने आयोजकले बताएको छ। यस बाहेक बृहत बराहक्षेत्रको पर्यटनमा यो खेलले थप टेवा पुग्ने संयोजक राईले बताउनु भयाे ।

प्रतियोगितामा चतरा, बयरबन, चक्रघट्टी, कालाबन्जर र सुदुर पश्चिमलगायत स्थानवाट करिब ७५ जनाले भाग लिनु भएकाे थियाे ।