धरान ।  धरान उपमहानगरपालिकाले तिहारको मौका छोपेर धरान वजारमा नयाँ सवारी पार्किङ शुल्क निर्धारण  गरेको छ । 

धरान उपमहानगरपालिकाले ठेकेदार मार्फत कात्तिक २४ गते देखि लागु हुने गरि नयाँ सवारी पार्किङ शल्क निर्धारण गरेको हो । उक्त पार्किङ शुल्कका संवन्धमा र स्थानीय सरकारले मनोमानी गरेको भनेर  धरानका यातायात व्यवसायी र सर्वसाधारण जनताले उपमहानगरपालिकाको आलोचना र विरोध गर्न थालेका छन् । 

bike-parking-charge

नयाँ सवारी पार्किङ शुल्क अन्र्तगत धरानमा अव मोटरसाइकल पार्किङको पनि शुल्क तिर्नु पर्ने भएको छ । जुन इतिहाँसमा यो पहिलो पटक हो । स्थानीय सरकारले साना सवारी साधान तीन पाङ्ग्रे,चार पाङ्ग्रे सहितलाई त पार्किङ शुल्क लिदै आएको थियो भने अब मोटरसाइकल र स्कुटरको पनि पार्किङ शुल्क तोकिएको छ । 

धरान उपमहानगरपालिकाद्धारा सार्वजनिक गरिएको सुचनामा   निर्धारित पार्किङ शुल्क स्कुटर, मोटरसाइकललाई १० रुपैयाँ, ट्याम्पो, निजी साना, हलुका सवारीलाई २५ रुपैयाँ सफारीलाई ३० रुपैयाँ, कार, मारुती भ्यानलाई ३५ रुपैयाँ, बास, माइक्रोबस, बुलेरो, स्कारपियोलाई ५० रुपैयाँ तोकिएको छ ।

नयाँ निर्धारण गरिएको सवारी साधान पार्किङ शुल्क उपमहानगरपालिकाको आन्तरिक श्रोत वृद्धिको लागि निर्धारण गरिएको वताईको छ । तर धरान उपमहानगरपालिकाको राजश्व  परामर्श समितीमा कुनै छलफल नै नभई आफुखुशी निर्धारण गरिएको बुझिएको छ ।

उपमहानगरपालिकाले मोरङको प्रिन्स निर्माण सेवालाई यात्रुवाहक सार्वजनिक यातायातका सवारी साधनहरूलाई पार्किङ शुल््क असुलीको ठेक्का दिएको हो । धरान–१६ को लिङथेप एण्ड को कन्स्ट्रक्सनलाई मोटरसाइकल र निजी सानारहल्का सवारी साधनको शुल्क उठाउने ठेक्का दिएको छ  । 

सवारी पार्किङ शुल्कको संवन्धमा ड्राइभिङ स्कुल संघका केन्द्रिय सदस्य एवम् सुनसरी मोरङ वरिष्ठ उपाध्यक्ष नवीन रम्तेलले अहिले सम्म नै धरानको इतिहाँसमा नै नभएको स्थानीय सरकार भएको र इतिहाँसमा नै पहिलो पटक मोटरसाइकल पार्किङ शुल्क निर्धारण गरेर आलोचित भएको वताउनु भएको छ । उहाँले भन्नु भयो,‘पार्किङ शुल्क तोकिएको छ ,तर व्यवहारिक छैन,एक स्थानदेखि अर्को स्थानमा पार्किङ गर्दा के गर्ने त्यो स्पष्ट छैन,यो नियम लागु हुन सक्दैन अनि पार्किङ स्थल नै नभएको धरानमा कसरी पार्किङ शुल्क भनेर उठाउने हो त ।’

धरान उपमहानगरपालिकाका राजस्व परार्श समिती सदस्य एवम् सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले समितीको सदस्य भएपनि यो नियमको बारेमा आफुलाई कुनै जानकारी नभएकाले स्वीकार्य नहुने बताउनु भएको छ । उहाँले भन्नु भयो,म आफै सदस्य हुँ,खै कहिले बैठक वस्यो त मलाई थाहै छैन,यो नियम धरानको हकमा अव्यहारिक भएकाले एक्लौटी ढंगले लागु गर्न पाईदैन।

त्यसै गरि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश संयोजक एवम् सुनसरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सरोध श्रेष्ठले पनि सरोकारवालासँग छलफल नै नगरि आएकाले छलफल र अध्ययन गरेर मात्र अघि वढ्नु पर्ने वताउनु भएको छ । धरानमा पार्किङ स्थल छुट्टै भनेर तोकिएको छैन,सडकमा पार्किङ गर्नु पर्ने अवस्था रहेको छ,धरानको भानुचौकदेखि छाता चौक सम्म पार्किङ शुल्क लिन पाउने क्षेत्राअधिकार धरान उपमहानगरपालिकाको नभएको  श्रेष्ठले वताउनु भयो ।

नेपाल सरकार अन्र्तगत सडक विभागको क्षेत्राधिकार भएकाले कोशी राजमार्गको भानुचौक देखि छाताचौक सम्म स्थानीय सरकारले शुल्क पाउने छैन । श्रेष्ठले भन्नु भयो,‘अन्य शहरको तुलनामा धरान फरक परिवेश भएको शहर हो, यहाँ धरानको विकासको निम्ति धरानवासीको जनसहभागिता छ,घर भत्काएर सडक वनाउनको लागि सहयोग गरेका छन,त्यसैले यस्ता कुराको हेक्का नराखी नियम वनाउँदा त्यसको दुरगामी असर पनि पर्दछ,शुल्क लिन नपाउने भन्ने होइन तर समन्वय,छलफल र सहकार्य आवस्यक छ,त्यो विना यो नियमले काम गर्न गाहो हुन्छ ।’

धरानको व्यापार व्यवसाय समेत धरासायी भएको अवस्थामा पार्किङ शुल्कको कुराले थप असर गर्ने पनि श्रेष्ठको भनाई छ । उहाँले सवारी पार्किङ शुल्क पुर्नः विचार गर्न माग गर्नु भएको छ । यता धरान उपमहानगरपालिकाका उप–मेयर एवम् राजस्व परामर्श समितीका संयोजक समेत रहुनु भएका आइन्द्र विक्रम वेघाले भने यस अघिको सरकारले गरेको निर्णयलाई अहिले आएर लागु गरेको भनेर आलोचना र विरोध नगर्नको लागि आग्रह गर्नु भएको छ ।

उहाँले पार्किङ शुल्कको वारेमा चातर्फी विरोध भएकाले सामाजिक सन्जालमा समेत  पोष्ट गर्नु भएको छ ।उहाँले अनावस्यक भ्रमको राजनीति नगर्न होला भन्दै  सवारी पार्किङ शुल्क कार्यपालिका वैठकमा छलफल भएर नगरसभाले समेत पारित गरेकाले नियमसंगत भएको दावी गर्नु भएको छ । अघिल्लो सरकारले बढाएको टेम्पो–इ रिक्सा र साना सवारी साधानको पार्किङ शुल्क समेत यो सरकारले घटाएको वताउनु भएको छ । 

तर कार्यपालिका सदस्य दिनेश गजमेरले भने कार्यपालिका वैठकमा जवरजस्त ढंगले मेयरले सवारी पार्किङ शुल्कको विषयमा अयिघ वढेको वताउनु भएको छ । उहाँले भन्नु भयो,कार्यपालिका बैठकमा छलफल भएको हो तर हामीले विरोध गर्दा गर्दै पनि मेयरले जवरजस्ती पेलेर गएको हो ।यस अघि धरान उपमहानगरपालिकाको  कार्य बाहक मेयर मन्जु भण्डारीको कार्यकालमा टेम्पो पार्किङ शुल्क निर्धारण गर्दा विरोध भई अन्ततः स्थायनीय तहको चुनाबमा मेयरको उम्मेद्धवारी वन्नु भएकी भण्डारीले चुनाब पराजित हुनु परेको थियो ।

कहाँ–कहाँ सवारी पार्किङ शुल्क लाग्छ ? 

सुचनामा उल्लेख भए वमोजिम भानुचौक देशी लाइन भौडी, मुल बजार महेन्द्र पथ, सिद्धिचरण मार्ग (बिएकृष्ण गल्ली), पुराने बजार सिंहदेखि चौक सम्मको सडक, छाता चौक चतरा लाइन,रत्न रोड, गीता मन्दिर लाइन गल्लीको सडकमा पनि पार्किङ गर्न पाइने सूचनामा उल्लेख गरिएको छ ।  भानुचौक(पुतली लाइन, सैनिक चौक, कलेज रोड, गौतम पथ, नरेन्द्र पथ ( सब्जी मण्डी) समेत उल््लेख छ । सवारीधनीले पार्किङ स्थालमा राखिएको सवारी साधानको जिम्मेवारी आफैं लिनु पर्ने भनिएको छ ।