धरान /  सङ्घीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले चलाएको स्कारपियो जिपले ठक्कर दिदा एक जनाको ज्यान गएको छ ।  शुक्रवार राती झापाको कनकाई नगरपालिका ८ विरिङ पुलमा को १ च ७८३९ नम्बरको स्कोरपियोले मोटरसाइकललाई ठक्कर दिदा कमल गाउँपालिका ६ का अनिल मडीको मृत्यु भएको हो । 

मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् । मोटरसाइकलमा सवार ३ जना मध्ये २ जना गाडीको ठक्करबाट पुल मुनी खोलामा खसेका थिए । मोटरसाइकलको बिचमा सवार १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो । उनलाई उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्‍याइएको अवस्थामा मृत्यु भएको प्रहरीले जजनाएको छ ।

इलाका प्रहरी बिर्तामोडका डिएसपी सुरज कार्कीले तिहारको बिदा भएकाले बिदा पश्चात् कानुन बमोजिम कारबाही हुने बताउनु भएको छ । दुर्घटनामा मान्छे मारिए पछि दुर्घटना गराउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राख्ने प्रावधान भए पनि एसपी दाहाललाई भने प्रहरी हिरासतमा नराखेको बुझिएको छ । मृतकका परिवारले शव बुझेर पोस्टमार्टम गरि अन्तिक संस्कारको काम गरेको बताइएको छ । 

मोटरसाइकल चालक कमल(६ का १९ वर्षीय खगेन्द्र ताजपुरिया र पछाडि सवार सोही १८ वर्षीय पूजन राजवंशी घाइते भएका छन् ।  राजवंशीको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।