धरान  / लामो सयमदेखि पत्रकारितामा सक्रिय इटहरीका पत्रकार पिबी दियालीको दुवै मृगौलामा समस्या आएको छ । दुवै मिर्गौला काम नलाग्ने भएपछि उहाँले थप उपचारको निम्ति सरकार, सामाजिक संघ संस्था र मनकारी दाताहरुसँग सहयोगको याचना गर्नु भएको छ । 

पछिल्लो २९ वर्षदेखि इटहरीमा सक्रिय व्यावसायिक पत्रकारिता गर्दै आउनु भएका पत्रकार दियाली विश्वकर्माले आफनो दुवै मिर्गौलाले काम गर्न छाडेको बताउनु भयो । उहाँ धरानस्थित विपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहनु भएको छ । दुवै मृगौलाले काम नगरे पछि चिकित्सकहरुले मृगौला फेर्नु पर्ने सल्लाहा दिएका छन् । थप उपचारको निम्ति आर्थिक हैसियत नभएकाले सहयोगको निम्ति अनुरोध गर्न बाध्य भएको उहाँले बताउनु भयो । 

थप उपचारको निम्ति पत्रकार महासंघ केन्द्र र महासंघका प्रदेश समितिलाई जानकारी गराएको उहाँले बताउनु भएको छ । उहाँले दाताहरुलाई समय सहयोगका लागि याचना गर्नु भएको छ । उहाँ लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको बिरामी हुनुहुन्थ्यो । लामो समय उच्च रक्तचाप र मधुमेहको कडा औषधि सेवन गरेका कारण मिर्गौला खराब भएको हुनसक्ने उहाँ बताउनु हुन्छ । 

४८ वर्षे दियाली ईटहरीबाट प्रकाशित गणराज्य साप्ताहिक र मकालु अनलाइनका प्रधान सम्पादकका रुपमाकाम गदैं आउनु भएको छ । उहाँले धरानबाट प्रकाशित ब्लााष्ट दैनिकबाट पत्रकारिता शुरु गर्नु भएको थियो ।  संकटकालको समयमा तीन महिना प्रहरी हिरासतमा पर्नु भएका दियालीलाई ३३५ दिन नजरबन्दमा  राखिएको थियो । उहाँले लोकतन्त्र स्थापनाका लागि र पत्रकारिताका विकासका लागि ठूलो योगदान दिनु भएको छ । 

दियाली नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य तथा दलित विभाग संयोजकको जिम्मेवारीमा हुनु हुन्छ ।  उहाँ नेपाल दलित पत्रकार संघ र  समाजवादी प्रेस संगठनको केन्द्रीय सदस्य पनि रहनु भएको छ । 

सम्पत्तिको नाममा इटहरीमा एउटा सानो घर रहेका उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ ।