धरान । आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारी  र पदाधिकारीवीच सहमति भएको छ । 

कर्मचारी शिक्षक बढुवाका विषय लिएर आन्दोलित भएका थिए भने अन्तत सहमति पछि काममा फर्किने भएको जनाइएको छ ।आन्दोलनरत कर्मचारी शिक्षक र प्रतिष्ठानका पदाधिकारीवीच ४ वुदे सहमति भएको छ ।  

सहमतिमा स्थायी तथा परफर्मेन्स करार सेवाका पदहरुका कर्मचारीहरुको अन्तर्वार्ता मिति २०८० पुष ०१ गतेदेखि शुरु गरी मिति २०८० पुष मसान्त सम्ममा सम्पन्न गर्ने सहमति भएको छ । यस्तै अन्तर्वार्ता सम्पन्न पश्चात एक महिनाभित्र संचालक परिषद्को बैठक बस्न पहल गरी तत्पश्चात नतिजा प्रकाशन गर्ने जनाएको छ भने करार सेवाको कर्मचारीहरुको अन्तर्वार्ता मिति २०८० मङ्सिर १ देखि सुरु गरी मंसिर महिना भित्रै सम्पन्न गर्ने सहमति भएको छ ।

यस्तै सहमतिको तेस्रो बुँदामा आन्दोलनका कारण प्रतिष्ठान व्यवस्थापनले कर्मचारी कल्याण समाज, समाजको सदस्य र कुनै कर्मचारीप्रति पूर्वाग्रह नराख्ने उल्लेख छ । सहमतिको चौंथो बुँदामा हाल आफ्ना मागहरु उठान गरी आन्दोलनरत सम्पूर्ण पक्षहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु आजैका मितिदेखि स्थगन गरी आ(आफ्नो कार्यमा संलग्न हुने उल्लेख छ ।

सहमतिमा कर्मचारी कल्याण समाजका पदाधिकारी र प्रतिष्ठान पदाधिकारीसँग बिपी प्रतिष्ठान सन्चालक परिसद सदस्य मन्जु भन्डारी, डा. नारायणराज भट्टराई, सदस्य, धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई, नेपाली काङ्ग्रेसका सभापति श्याम पोखरेल, एमाले धरान अध्यक्ष हर्कजंग एभेङ्ग, धएआन १७ का वडाध्यक्ष तथा माओवादी केन्द्रका धरान अध्यक्ष सूर्यबहादुर भट्टराई र जसपा अध्यक्ष ताजुब लिम्बू, नेकपा एसका धरान अध्यक्ष रेवतीरमण राईलगायतको उपस्थिति थियो ।