मोरङ ।जिल्ला अदालत मोरङले    विराटनगरका  दुई जना कराँते प्रशिक्षकलाई सामुहिक बलात्कारमा दोषी ठहर गरेको छ  ।

जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गरेको हो । 

सजाय निर्धारणको समय आगामी कात्तिक २२ गतेलाई तोकिएको छ । जबरजस्ती करणी मुद्दा चलाइएका दुवै जनालाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको थियो ।

सुवेदी र राउत राष्ट्रिय खेलकुद परिषद् राखेप० का स्थायी प्रशिक्षक थिए । विराटनगरकै एक होटलमा लगेर २०७९ जेठ अन्तिम साता आफूमाथि सामुहिक बलात्कार गरेको भन्दै सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत छात्राले उनीहरुविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले २०७९ साउन ८ गते पक्राउ गरेर दुवै जनालाई अनुसन्धानको दायरामा ल्याएको थियो ।

प्रहरीको अनुसन्धानबाट छात्रालाई नसालु पदार्थ सेवन गराएर बलात्कार गरेको यकिन भएको थियो । बलात्कारमा दोषी ठहर भएका सुवेदी छात्रा अध्ययनरत कलेजका अनुशासन इन्चार्ज थिए । परीक्षामा सहयोग गर्ने बहानामा नजिकिएका सुवेदीले बारम्बार बलात्कार गरेको पीडित छात्राको भनाइ छ । पछि साथीलाई समेत बोलाउँदै दुवै जनाले सामुहिक बलात्कार गरेको पीडितले किटानी जाहेरीमा खुलाएकी थिइन् ।