सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवारका एक सय चारको जनाको निःशुल्क दाहसंस्कार गरेको छ ।

उपमहानगरको सहयोगमा आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यको निधनमा निःशुल्क दाहसंस्कार गरिएको उपमहानगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि आवश्यक दाउरा तथा अन्य सामग्रीसहित निःशुल्क दाहसंस्कार गर्दै आएको पनि उहाँले बताउनुभयो ।

यसअघि घरदेखि घाटसम्म शववाहन निःशुल्क गरेको उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभाव भएकालाई इटहरीको बूढीगङ्गा–जमुना मुक्तिघाटमा निःशुल्क दाहसंस्कार गर्न थालेको पौडेलले बताउनुभयो । आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्नेका लागि यस्तो निर्णय गरिएको उहाँको भनाइ छ।

‘मृत्युपछि गरिने अन्त्येष्टिमा आर्थिक समस्या भएर टायरले शव जलाउनुपर्ने अवस्था नआओस् भनेर दाहसंस्कार गर्नुअघि नै दाउरा लगायतका आवश्यक सामग्री घाटमा निःशुल्क दिने व्यवस्था गरेका छौँ,’ पौडेलले भन्नुभयो, ‘साथै नगरवासीको ज्यान गएमा घाटसम्म शव लैजान उपमहानगरले निःशुल्क रूपमा शववाहन उपलब्ध गराउँदै आएको छ ।’

इटहरीका २० वटै वडामा कोहीकसैको ज्यान जाँदा अन्तिम संस्कारका लागि शववाहन तथा बिरामीलाई अस्पताल ल्याउन र लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको उपमहानगरले जनाएको छ ।