मोरङ / विसं २०२७ फागुन ११ गते भोजपुरको साविक थिदिंखा–५, पसलभञ्ज्याङ (हाल आमचोक गाउँपालिका–३) मा जन्मेका शेरधन राई नेकपा (एमाले) बाट प्रदेश नं १ को मुख्यमन्त्रीमा हिजाे आज नियुक्त भएका छन् । 
प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । राई एमाले र नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।
विसं २०४४ मा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरु गरेका राई विसं २०५६ सालको आम चुनावमा भोजपुर क्षेत्र नं २ बाट कान्छो सांसदका रुपमा विजयी भएका थिए ।  विसं २०४९/५० सालमा अनेरास्ववियु भोजपुर जिल्ला अध्यक्ष, २०५० र २०५३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य/पूर्वाञ्चल प्रमुख बनेका राईले २०४७ सालमा एमालेको संगठित सदस्यता प्राप्त गरे ।
विसं २०४९ मा एमाले भोजपुरको जिल्ला कमिटी सदस्य, २०५१ सालमा दोस्रो जिल्ला अधिवेशनबाट सचिवालय सदस्य, २०५४ मा जिल्ला कमिटीको उपसचिव हुँदै २०५४ सालमा पार्टी विभाजन भएपछि सचिव हुँदै २०५४ सालदेखि २०७० सालसम्म गरी चार कार्यकाल उनी एमालेको जिल्ला अध्यक्ष बनेका हुन । विसं २०७० वैशाख २७ गते एमाले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएका राई २०७१ सालमा एमाले केन्द्रीय सदस्यमा निर्वाचित हुँदै हाल वैकल्पिक पोलिटब्यूरो सदस्य एवं प्रदेश नं १ को सहइञ्चार्ज रहेका छन् ।
विसं २०५६ को आमनिर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट १८ हजार ४४७ मत प्राप्त गर्दै २७ वर्षको उमेरमा राईले संसद्मा सबैभन्दा कान्छो सांसद्को रुपमा प्रतिनिधित्व गरेका थिए ।  विसं २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट पराजित भएका राई २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा भने भोजपुर क्षेत्र नं २ बाट ११ हजार ९२७ मत ल्याएर निर्वाचित भए । विसं २०७१ मा तत्कालीन व्यवस्थापिका–संसद्को सुशासन तथा अनुगमन समितिको सभापति भएका राई विसं २०७२ कात्तिक १९ गते सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता बनेका थिए ।
गत मंसिरमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा भोजपुर (ख) बाट २० हजार ३३४ मत प्राप्त गरी निर्वाचित हुनुभएका राई गत माघ २६ गते प्रदेश नं १ को एमाले संसदीय दलको नेता बनेका थिए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै राईले प्रदेश नं १ मा भएका स्रोत र साधनलाई उपयोग गर्दै देशकै समृद्ध प्रदेश निर्माण गर्ने अठोट गरेका छन् ।