धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवालाई तत्काल सुचारु गर्नको लागि  धरानका राजनीतिक दलहरुले प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । 

दलहरुले आज संयुक्त रुपमा यथासक्य चाँडो समस्या समाधान गरि प्रतिष्ठानको स्वास्थ्य सेवा सन्चालनको लागि आग्रह गरेको हो । दलहरुले अन्यथा स्वास्थ्य सेवाको विषयमा गंभीर नवने जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहने विज्ञप्ती मार्फत जनाइएको छ । 

नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत  समाजवादी पार्टीले प्रतिष्ठान सेवा सन्चालन गर्नको लागि आग्रह गर्दै स्वास्थ्य सेवा वन्द भएको प्रति ध्यानाकार्षण भएको जनाएका छन् ।  

विज्ञप्तीमा भनिएको छ ,‘बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा लिन आउने धराने जनता र आम नागरिकलाई स्वास्थ्य सेवा लिनवाट बन्चित भएको हुँदा आन्दोलनरत पक्ष र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी समेतलाई तत्काल उपयुक्त निकास निकाली तत्काल स्वस्थ्य सेवालाई निशर्त सुचारु गर्न हार्दिक अपिल गर्दछौं ।’