काठमाडौं । इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थीलाई  आज साँझ सम्म नेपाल ल्याउने भएको छ । प्यालेस्टाइनी अतिबादी समूह हमासले गरेको आक्रमण पछि युद्ध चर्किएको इजरायलबाट नेपाल फर्कन चाहेका विद्यार्थीलाई नेपाल सरकारले आज साँझ  सम्म नेपाल ल्याउने भएको हो ।

इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज गए राति त्यसतर्फ प्रस्थान गरेको थियो, आज इजरायलबाट नेपाली बिद्यार्थीसहित युद्धमा घाइतेहरुलाई नेपाल ल्याउँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालीहरुलाई लिन गएको बिमान आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थीलाई नेपाल ल्याउन लागिएको हो । इजरायल–हमास युद्धमा मारिएका १० नेपालीको शव नेपाल ल्याउन भने केहि दिन लाग्ने सरकारले जनाएको छ । आक्रमणमा मारिएका १० नेपाली विद्यार्थीको शव हस्तान्तरणका लागि इजरायल सरकारको प्रक्रिया पुरा भएपछि मात्र नेपाल ल्याइने सरकारले जनाएको छ ।

१० जना विद्यार्थीको शव ल्याउन केही ढिलाइ हुने 

यसैवीच इजरायल सरकारले युद्धको घोषणा गरेको अवस्थामा शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले उनीहरुको शव तत्काल ल्याउन ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार शवलाई इजरायली सरकारको संरक्षणमा सुरक्षित रुपमा राखिएको छ।जतिसक्दो छिटो नेपाल ल्याउने गरी आवश्यक समन्वय गरिरहेका पनि उहाँले बताउनुभयो । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुने बित्तिकै शव नेपाल ल्याइ परिवारलाई बुझाइने उहाँले बताउनुभयो ।