काठमाडौं/ सरकारले मङ्गलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०र१० लाख राहत दिने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो ।

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते छन् । बङ्करमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन् ।

मन्त्री शर्माका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ । नेपालीको दुःखद् निधन भएकोमा मृतकहरुप्रति बैठकले श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्ने निर्णय समेत गरेको शर्मामाले बताउनु भयो । 

 परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने र  इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवम् घाइतेहरुको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेसमेत निर्णय गरेको छ । इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने भएको छ ।

स्वदेश फर्कन चाहने इजरायलमा रहनुभएका नेपालीहरुलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गरिएको छ । अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरुलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने जनाएको छ । यस्तै इजरायलमा रहेका नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिएको प्रवक्ताशर्माले जानकारी दिनु भयो ।