काठमाण्डौ । इजरायलमा हमास समूहको आक्रमणमा परेर नौ जना नेपाली घाइते भएका छन् भने  घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्धारको पर्खाइमा रहेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत ११ महिनाका लागि इन्टर्न गर्न इजरायल गएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना गएको भदौ २७ गते इजरायल गएका हुन् । उनीहरु द्वन्द्व प्रभावित क्षेत्रमा छन् । उनीहरु रहेको क्षेत्र द्वन्द्वग्रस्त गाजा क्षेत्रबाट नजिकै छ । यो क्षेत्र हमास समूहको नियन्त्रणमा छ । परराष्ट्रले मन्त्रालयले इजरायलमा रहेको नेपाली दूतावास आक्रमण प्रभावित क्षेत्रमा रहेका नेपालीसँग निकट सम्पर्कमा रहेको र उनीहरुको सुरक्षा तथा उद्धारका साथै उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको जनाएको छ ।

यस्तै, त्यहाँ रहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरसःपालन गर्न मन्त्रालयले अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेको नेपाली दूतावासको टेलीफोन नम्बर ९७२९००३५१६८०८५, तथा राजदूत कान्ता रिजालको नम्बर ९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेको ९७२५२८२८९३०० र इमेल  [email protected] मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

सरकारले इजरायलमा भएको आक्रमणको भत्सर्ना गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । हमास समूहको आक्रमणमा परी इजरायलका २ सय ५० जना भन्दा धेरैको ज्यान गएको छ ।