धरान / मधेशका जिल्लामा सन्तति स्नेह एवं उत्सर्गको पवित्र पर्व जितिया सुरु भएको छ । मधेशका आमाहरूले आफ्ना सन्तानको सुरक्षा, दीर्घायु र प्रगतिका लागि २४ घन्टाभन्दा बढी निराहार रहेर यो पर्व मनाउने परम्परा छ । व्रतालु महिलाले बिहीबार सूर्योदयपूर्व दिवङ्गत पितृको स्मरण एवं आराधना गरी घिरौँलाको पातमा चढाएको दही–चिउरा, फलफूललगायतका प्रसाद सपरिवार ग्रहण गरेपछि जितिया सुरु हुन्छ ।
व्रतालुले दुई दिनसम्म पानीसमेत नखाने हुँदा यो पर्वलाई ‘खर जितिया’ पनि भनिन्छ । पहिला पहिला छोरा हुने आमाले मात्र यो पर्व मान्ने चलन थियो । यही कारण लैङ्गिक समानताका हिमायतीले यसलाई ‘विभेदकारी’ रहेको आलोचनासमेत गरेको पाइन्छ तर समय क्रमसँगै जितिया पर्वको परम्परागत मान्यतामा परिवर्तन आएको छ । व्रतालु आमाहरू केबल ‘छोरा’ का लागि मात्र नभई सन्तान अर्थात् छोराछोरी दुवैका लागि यो पर्व मनाउने गरेको बताउन थालेका छन् ।
बर्दीबास–३, गौरीडाँडाकी बबिता सिंहले जितिया पर्व मनाउन थालेको करिब १६ वर्ष भयो । जितिया सुरु गर्दा उहाँको छोरो थिएन । उहाँले भन्नुभयो, “पहिलो पटक जुम्ल्याहा छोरी भएदेखि नै आफूले जितियाको व्रत लिन सुरु गरेको हुँ । अहिले एउटा छोरो पनि छ । मेरा लागि छोराछोरी सबै बराबरी उनीहरूको सुख, शान्ति र दीर्घायुका लागि जितिया गर्दै आएकी छु ।”
उहाँ जस्तै एकडारा गाउँपालिका–४, बहेडा गाउँकी बबिता मण्डल, गौशाला–९, भरतपुरकी मिथलेशदेवी पनि आफ्ना सबै सन्तानका लागि यो व्रत बस्ने गर्नुहुन्छ । औरही नपा–१ की ६५ वर्षीय कुसुमदेवीले जितिया पर्व मनाउन लागेको करिब ४१ वर्ष भयो । उमेर ढल्दै गएपछि पर्वको भावना र कामना पनि फराकिलो हुँदै गएको उहाँको अनुभव छ ।
उहाँ भन्नुहुन्छ, “पहिले छोराछारीको सुखका लागि जितिया गर्थें । अब नातिनातिना पनि भए उनीहरूको सुख शान्तिका लागि यो व्रत बस्छु ।”
“छोराका लागि त गर्दै आएकी थिएँ, चार पाँच वर्षदेखि छोरीका लागि पनि जितिया गरेकी हु“,” उहाँले भावना पोख्नुभयो, “भगवान्ले मेरो छोरीको दुःख सुनिदिनु हुने आसमा छु ।”