काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको लागि बुधबार रातीदेखि आवेदन खुलेकाे छ । नेपाली समय अनुसार असोज १७ गते राति ९:४५ बजेबाट आवेदन दर्ता सुरु भएकाे काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
अनलाइन फारम यसरी भर्ने
सन् २०२५ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
दर्ता गर्दा आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । र, फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।
डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । किनकी यो नम्बर नै स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।