विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा मजदुर क्लष्टरबाट भीमज्वाला राई सर्वाधिक मतकासाथ विजयी हुन भएको छ  । 

असोज १५ गते राति १२ बजे प्रथम प्रदेश अधिवेशन निर्वाचन समितिले मजदुर क्लष्टरबाट विजयी उमेद्वारहरुको नाम घोषणा गर्दा भीमज्वाला राई लोकप्रिय मत ल्याउँदै विजयी हुनु भएको हो । राईले ६१४ मत ल्याउनु भएको छ  । 

उक्त मत मजदुरबाट विजयी हुनेहरुमा सबैभन्दा बढी र पदाधिकारीको उप सचिवमा विजयी जलवर्षा राजवंशीले पाएको मतमा दोस्रो हो । राजवंशीले ६२८ मत ल्याएर विजयी बन्नु भएको छ ।  तीन दशकदेखि मजदुर आन्दोलनमा निरन्तर क्रियाशिल धरानका भीमज्वाला राई देशकै प्रभावशाली मजदुर नेताका रुपमा स्थापित भइरहनु भएको छ ।

उहाँले आमसञ्चार तथा पत्रकारितामा एम ए गर्नु भएको छ । बसको कण्डक्टरका रुपमा मजदुरी गर्दै मजदुर आन्दोलनमा क्रियाशील राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य हुनु हुन्छ । 

९९७ प्रतिनिधिहरु सहभागी अधिवेशनमा ९७७ मत खसेको थियो खसेको मतमा ५० बढी मत बदर हुनसक्ने निर्वाचन समितिले जनाएकोछ । पदाधिकारी र समावेशी बाहेक अन्य क्लष्टरको अन्तिम परिणाम आउन बाँकीछ ।

यस अघि नै अध्यक्षमा घनश्याम खतिवडा ८२ मतान्तरले, उपाध्यक्ष टिकाराम चेम्जोङ सर्वसम्मत, सचिवमा राजकुमार भण्डारी, उप सचिवहरुका जलवर्षा राजवंशी र देवान राई निर्वाचित भइ सक्नु भएको छ ।