काठामाडौँ  /  महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिनु भएको छ । 

एसएसपी पालले शनिबार राजीनामा बुझाएको प्रहरी प्रवक्ता  डीआईजी कुवेर कडायतले जानकारी दिनु भएको छ ।  उहाँको राजीनामा स्वीकृतका लागि गृह मन्त्रालयमा पठाइएको बताइएको छ।

सहायक हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले यसअघि नै निलम्बन गरेको थियो।

उहाँले कञ्चनपुरको प्रहरी प्रमुखको रूपमा कार्यरत रहँदा गत १९ जेठमा सोही कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेको आरोप छ । 

घर बिदामा जाने तयारीमा रहेकी महिला हवल्दारलाई सञ्चारसेटबाटै आफू कहाँ पठाइदिन भन्नु भएको थियो । आदेशपछि हवल्दार एसएसपीको निवास पुग्नु भएको थियो । त्यहाँ एसएसपी पालले  ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔं’ भन्दै दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ ।