धरान । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ ।  प्रतिपदा र द्वितीया तिथिमा गर्नुपर्ने श्राद्धका लागि मानिसहरू बिहानैदेखि धार्मिक स्थल पुगेका छन् । सुनसरीका विष्णुपादुका र वराहक्षेत्रमा श्रद्धालुहरु  दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्न पुगेका छन् ।

आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।

यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व, यज्ञ तथा ठुला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । 

पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्म शास्त्रीय मत छ । ठुला पर्व वा चाड मनाउनुअघि पितृ तृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।