विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबार र शनिवार प्रदेश राजधानी विराटनगरमा हुन लागेको  अधिवेशनका तयारी पूरा भएको अधिवेशन प्रचार प्रसार उप–समितिका संयोजक शैलेश लामाले जानकारी दिनु भयो ।

अधिवेशनको तयारी पूरा भइसक्दा पनि उम्मेदवारहरुको भने टुंगो लाग्न सकेको छैन । प्रदेशमा चार जनाको नाम चर्चामा रहेपनि अधिवेशनको पूर्व सन्ध्यामा आइपूग्दा दुईजनाको नाम बढी चर्चामा छ । आकांक्षी देखिएका नेताहरु प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने, केन्द्रीय सदस्य विनोद ढकाल, नेताहरु टिकाराम चेम्जोङ र घनश्याम खतिवडा मध्ये न्यौपाने र चेम्जोङको भन्दा सम्भावना ढकाल र खतिवडामा केन्द्रीत बन्दै गएको छ ।

न्यौपानेलाई केन्द्रीय समितिमा लैजाने सम्भावना रहेको तर्कसहित उहाँको उम्मेदवारी पर्न नसक्ने अड्कल एमालेका नेताहरुले गर्न थालेका छन् । कोशी प्रदेश अधिवेशनमा पनि सर्वसम्मत नेतृत्व चयनको सम्भावना भने न्यून देखिँदै गएको छ । दोस्रो तहका नेताहरुले बढी चलखेल गर्दा कोशी प्रदेशमा निर्वाचन नै हुने अवस्था सृजना भएको एमालेका एक नेताले जानकारी दिनु भएको छ ।

ति नेता भन्नु हुन्छ ,‘केन्द्रीय अध्यक्षको हवाला दिँदै दोस्रो तहका नेताले बा को लाईन भन्दै अधिवेशन प्रतिनिधिहरुलाई भोट माग्न थालेपछि सहमतिको सम्भावना न्यून बन्दै छ ।’ यतिबेला बढी चर्चामा रहेका आकांक्षीहरु ढकालका पक्षमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईको साथ रहेको छ ।

खतिवडालाई भने नेकपा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकालको समर्थन रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै गुट नरहेको भन्दै प्यानल बनाउन बन्देज लगाएको अवस्थामा खतिवडालाई बाको लाईन भन्दै प्रतिनिधिहरुलाई विभिन्न नेताहरुबाट फोन आएको एक प्रतिनिधिले भन्नु भयो ।

उहाले भन्नु भयो ,‘पार्टी अध्यक्षले कसैलाई च्यापेको बा लाइन देको हामीलाई थाह छैन, तर नेताहरु भने लाइन भन्दै भोट माग्न थाल्नुभएको छ ।’ त्यसो त नेकपा एमालेको दुई कार्यकाल अध्यक्षको नेतृत्व सम्हालेका ढकाल प्रदेशमा अहिलेसम्म केपी ओली पक्षधरको मियोको रुपमा अडिग छन् । यद्यपी विभिन्न निर्वाचनको संघारमा भने उनलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग जोडेर चर्चा हुने गरेको छ ।

तिनै ढकाल र खतिवडा बिच ५ औं मोरङ जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्यासी थिए ।  तत्कालिन पार्टीका दुई गुट ओली र माधवकुमार नेपालको प्रतिनिधित्व गर्दै   चुनाव लड्नु भयो । । त्यसबेला नेपाल गुटका खतिवडालाई ओली गुटका ढकालले पराजित गरेका थिए । लामो समय नेपाल पक्षमा रहेका खतिवडा २०७४ सालको प्रतिनिधिसभा निर्वाचन अघि नेपाल समूह त्याग्दै ओली समूहमा आएर मोरङ क्षेत्र नम्बर १ बाट टिकट लिनु भएकाे थियाे ।

त्यसबेला निर्वाचित भएका खतिवडाले पुनः २०७९ सालको निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन पाएपनि नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बुसँग पराजित हुन पुग्नु भयो । खतिवडा इमान्दार नेता रहेकाले जनप्रतिनिधि बनेपनि पार्टीको नेतृत्व र कार्यकर्तालाई सम्वोधन भने गर्न सक्नेमा पार्टीका कार्यकर्ता नै शशंकित छन् । यता जनताबाट अनुमोदित हुने अवसर नपाएपनि ढकाल भने पार्टी पंक्तिमा कुशल नेताका रुपमा परिचित हुनु हुन्छ ।

सबैसँग समन्वयकारी भूमिका निर्वाह गर्नसक्ने क्षमताका ढकालले नेतृत्व लिँदा नेकपा एमाले सदैव निर्णायक रहेको पूराना नेताहरुको बुझाई छ । उनले पार्टी र कार्यकर्ताका लागि खेलेको भूमिकाको कार्यकर्ताले उच्च प्रशंशा गर्ने गरेका छन् । तत्कालिन नेकपा विभाजन हुँदा पनि मोरङमा ठूलो क्षतिबाट बचाउन सफल ढकालले सबै पक्षसँग गर्ने समन्वय र राख्ने प्रभाव नेता कार्यकर्ताको लागि उच्च रहेको छ ।