धरान । कोशी राजमार्ग अन्तर्गतको धरान –इटहरी सडक खण्डमा पर्ने सेउती पुलदेखि पानी पियासम्मको  ६ लेन सडक निर्माण कार्य चाँडो निर्माण सम्पन्न गर्न धरानका राजनीतिक दलहरुद्धारा सरकारको ध्यानाकर्षण गराएको छ । 

आज नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी,जनता समाजबादी पार्टी नेपाल र नेकपा एस धरानले संयुक्त प्रेस विज्ञप्ती जारी गरि सरकारी पक्ष र ठेकेदारको लापारबाही र गैर जिम्मेवारीका कारण सडक निर्माण ढिला गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । 

विज्ञप्तीमा उक्त सडक खण्ड निर्माण तत्काल सम्पन्न गरेर सहज वनाउन पनि माग सरकारसँग गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘पूर्वी पहाडी जिल्ला जोड्ने राजमार्ग निर्माण प्राथमिकतामा रहनु पर्नेमा राज्यको कमजोर संयन्त्र तथा ठेकेदार कम्पनीको गैरजिम्मेवारीपनले उक्त सडक समयमा निर्माण हुन नसकेको हाम्रो बुझाई रहेको छ ।’

काम गर्न कुनै पनि बाधा नरहेको तर जिम्मेवार सरकारी पक्ष तथा ठेकेदार कम्पनीले समय सीमा भित्र काम नसकी ढिलासुस्ती गर्नुमा सरकारी पक्ष र ठेकेदार पक्षबिच लेनदेनको असमझदारी रहेको कुरा स्पस्ट भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  साथै राजनीतिक दलहरुले  यातायात व्यवसायी तथा मजदुर संगठनहरुले उठाएको मागहरु प्रति धरानका राजनीतिक दलहरुले एक्वद्धता जनाएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघं,नेपाल ट्रक यातायात व्यवसायी महासघं,नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन,अखिल नेपाल यातायात मजदुर सघं र नेपाल यातायात मजदुर सघंको कोशी प्रदेश समितिले मिति २०८०।०६।०८ गते जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बुझाएको ध्यानाकर्षण पत्रले आम नागरिक,यातायात व्यवसायी,मजदुरलाई परेको समस्यालाई प्रस्टसँग बुझाएको छ ।

यातायात व्यवसायी तथा मजदुरबाट ध्यानाकर्षण सहित  राखिएका माग र कार्यक्रमहरूप्रति हाम्रो ऐक्यबद्धता रहेको प्रस्ट पार्न चाहन्छौ ।’ विज्ञप्तिमा भनिएको छ ।दलहरुको तर्फबाट पटक पटक सरकारलाई यस विषयमा लिखित तथा मौखिकरुपमा ध्यानाकर्षण गराएको समेत स्पष्ट पार्दै यातायात व्यवसायी तथा मजदुरहरूका तर्फबाट राखिएका माग तत्काल सम्बोधन गर्न र सडक निर्माण कार्य सम्पन्न गर्न सरकारी पक्षसँग माग गर्दछौँ–विज्ञप्तिमा उल्लेख गरिएको छ । 

व्यवसायी तथा मजदुर संगठनका प्रतिनिधिहरुले मंगलबार सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउदै ७ दिनभित्र निर्माण कार्य सुचारु गर्न र दशैतिहार अघि नै निर्माण सम्पन्न गर्न माग गरेका छन् । निर्माण कार्य ७ दिनभित्र सुरु गरेर आवतजावत सहज नगराए सडक अवरोध गर्नेसहित चरणबद्ध आन्दोलन गर्न बाध्य हुने पनि चेतावनी दिइएको छ ।

रानी–विराटनगर–धरान ६ लेन सडक २०८० असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने भएपनि अहिले सम्म निर्माण कार्य सम्पन्न हुन नसक्दा सास्ती भोग्नु परेको  छ ।  

फायल तस्वीर