काठमाण्डौ । पाकिस्तानी दम्पती र तीन जना नेपाली गरी पाँच जनाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । तीन जना शेर्पाहरुको साथमा पाकिस्तानी दम्पती अहमद उजैर र अनुम उजैर बिहान मनास्लुको शिखरमा पुगेका सेभेन समिट ट्रेक्सले जनाएको छ ।

अघिल्लोे आइतवारदेखि शरद ऋतुको आरोहण शुरु भएको हो । यो सिजन मनास्लु हिमाल आरोहणमा लागि उपयुक्त मानिन्छ । यस वर्षको शरद ऋतुमा नेपालमा हिमाल आरोहणका लागि तीन सय ९५ जनाले अनुमती लिएकामा तीन सय एक जनाले मनास्लुका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

मनास्लु हिमाल आरोहण अनुमतीबापत सरकारले यो सिजनमा तीन करोड ४० लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । मनास्लु विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । सबैभन्दा पहिले सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो ।