विराटनगर / पत्रकार महासंघ मोरङको कार्यालय भवनको मुल गेटमै प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको छ । महासंघ मोरङको कार्यवहाक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टरले तालाबन्दी गरेको हो । 

महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश जानुभएको छ । उहाँले विदेशबाटै गत भदौ २९ गते महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको थियो । 

प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले महासंघको कार्यालयमा तालाबन्दी गर्दै कार्यबहाकको विषयको विवाद समाधानका लागि पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिलाई आग्रह गरिए पनि ढिलासुस्ती गरेपछि तालाबन्दी गरेको बताउनु भएको छ । 

खुल्ला उपाध्यक्ष मोहन भट्टराईले कार्यवहाक अध्यक्ष पाउनुपर्ने अडान प्रेस सेन्टरको रहेको छ । 

तालाबन्दीलाई प्रेस सेन्टर कोशी प्रदेशले पनि समर्थन गरेको छ । तालाबन्दीप्रति ऐक्यबद्धता जनाउँदै कोशी प्रदेश अध्यक्ष विनोद घिमिरेले एकताबद्ध रहेका मोरङका पत्रकारहरुबीच विवाद र झैझगडा बढाउने उद्देश्यका साथ विधान विपरीत कार्यबहाक अध्यक्ष तोकिएको बताउनु भएको छ ।