धरान / १८ वटा स्थानीय तह भएको सप्तरीमा चार नगरपालिकासहित सप्तरीको पाँच पालिकामा महिलाको नेतृत्व छ । जहाँ मधेशी र थारु महिलाहरुले पालिका हाकेका छन् । जसमध्ये चार पालिकमा महिलाले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएका छन् । एक पालिकामा पहिलेदेखी नै प्रमुख पदमा महिला नै रहनु भएको छ । 

    ती चारै जना महिला गत स्थानिय तह निर्वाचनमा उपप्रमुख र उपाध्यक्ष पदमा निर्वाचित तथा एक पालिकामा महिला प्रमुखमै निर्वाचित हुनु भएको थियो । प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेपछी तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रमुख र उपाध्यक्ष कार्यवाहक प्रमुख भएर पालिका संचालन गर्ने उहाँहरुले मौका पाउनु भएको हो ।  

    जिल्लाको राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, शम्भुनाथ नगरपालिकाका प्रमुख तथा विष्णुपुर गाउँपालिकाका अध्यक्ष बिरुद्ध अख्तियारले विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरे पछि क्रमशः भीमराज यादव, आतेश कुमार सिह यादव, जितेन्द्र प्रसाद गुप्ता र उमेशप्रसाद यादव निलम्बित अवस्थामा छन् ।

 राजविराज नगरपालिका अहिले उपप्रमुख इसरत परवीन, बोदेवर्साइन नगरपालिका उपप्रमुख रेणु कुमारी साह, शम्भुनाथ नगरपालिका उपप्रमुख अनिता कुमारी चौधरी तथा विष्णुपुर गाउँपालिका उपाध्यक्ष रेणु कुमारी यादव कार्यवाहक प्रमुख भएर पालिका चलाइरहनुभएको छ ।  

राजविराजकी कार्यवाहक प्रमुख इसरत परवीन र बोदेबर्साइनकी कार्यवाहक प्रमुख रेणु कुमारी साह जसपाबाट गत निर्वाचनमा उपप्रमुख पदमा निर्वाचित हुनु भएको थियो । भने विष्णुपुरकी कार्यवाहक प्रमुख रेणु कुमारी यादव नेपाली काँग्रेसबाट उपाध्यक्षमा जित्नु भएको थियो । त्यस्तै शम्भुनाथ नगरपालिकाकी कार्यवाहक प्रमुख अनिता कुमारी चौधरी नेकपा (एकीकृत समाजवादी) बाट उपप्रमुखमा निर्वाचित जनप्रतिनिधि हुुनहुन्छ ।   

नगर प्रमुख र गाउँपालिका अध्यक्ष निलम्बनमा परे पछी ती चारै पालिकाको नेतृत्व गर्ने अवसर अहिले महिलाहरुले पाउनु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट टिकट पाएर गीता चौधरी निर्वाचित हुनु भएको थियो । 

राजविराज नगरपालिकाका प्रमुख भीमराज यादव, बोदेवर्साइन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादव र विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव तीनै जना गत स्थानीय तहको निर्वाचनमा जसपाबाट निर्वाचितहुनु भएको थियो । उहाँहरु तीनै जना अख्तियारको कारवाहीमा परेपछि उपप्रमुखले पालिका हाक्ने जिम्मेवारी पाउनु भउको छ । 

 यस्तै जिल्लामा शम्भुनाथ नगरपालिकाको एक मात्र प्रमुख पद जितेको नेकपा एकिकृत समाजवादीका जितेन्द्र प्रसाद गुप्ता पनि अख्तियारको कारवाहीका कारण निलम्बनमा परेपछी ती पार्टीबाट गत स्थानीय तहमा निर्वाचित प्रमुख पदको संख्या पनि शून्यमा झरेको छ । 

    सप्तरीको १८ पालिका मध्ये गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसले ५ पालिकामा प्रमुख पद जित हात पारेको थियो । यस्तै जसपा, लोसपा र नेकपा एमालेले ३÷३, जनमतले २ तथा नेकपा (एकिकृत समाजवादी) र नेकपा माओवादीले १÷१ प्रमुख पदमा जित हात पारेको थियो ।  

यसअघि २०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा जिल्लाको १८ मध्ये ५÷५ पालिका नेपाली काँग्रेस, जसपा र लोसपाले जितेको थियो भने २ पालिकामा नेकपा एमाले र एउटा पालिकामा नयाँ शक्ति पार्टी बिजयी भएको थियो ।