भैरहव  /  रुपन्देहीको तिलोत्तमामा मजदुरी गर्दै आएका दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केउलानीमा मजदुरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप भएको हो । 

झडपका क्रममा हेटौँडा घर भई रुपन्देहीको मङ्गलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । उहाँको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । झडपका क्रममा उहाँमाथि चक्कु प्रहार भएको थियो ।

मदिरा सेवन गरी मजदुरहरू धारिलो हतियारसहित आपसी झडपमा उत्रिएका थिए । झडपका क्रममा घाइते हुनेहरूमा काठमाडौँ महानगरपालिका–१ बस्ने विकास वाइबा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचार भइरहेको छ ।

झडपमा संलग्न भएको अभियोगमा १३ जना मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको स्थानीयले बताए पनि प्रहरीले भने यसबारेमा केही उल्लेख गरेको छैन । प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।