मोरंग । आज (शनिबार) मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर  दुई बालिकाको मृत्यु भएको छ। 

प्रहरीका  अनुसार ग्रामथान गाउँपालिका–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको   हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अनुसार दुवै जना बालिकालाई ग्रामथान–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर घाइते भएको अवस्थामा बिहान ११.३० बजेतिर भेटिएको थियो । 

पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका उनीहरुलाई प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएका थिए। अस्पताल ल्याइपुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन्।  मृतक दुवै जनाको शवलाई कोसी अस्पतालमै राखेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताउनु भयो ।