धरान । सुनसरीमा जिल्ला स्तरी प्याब्सन एन्फा अन्तर स्कुल फुटवल प्रतियोगिता भोलीदेखि  शुरु हुने भएको छ । उक्त प्रतियोगिताको विषयमा आज (विहीबार) एन्फा एकेडेमी धरान १७ मा आयोजकले जानकारी गराएको छ । एन्फा सुनसरीको आयोजना र प्याब्सन सृुनसरीको संयोजनमा प्रतियोगिता आयोजना गरिने भएको हो । 

प्रतियोगिता पहिलो,दोश्रो र अन्तिम चरण गरेर हुने भएको छ ।  भोली सुनसरीको इटहरी र बराहक्षेत्रबाट प्रतियोगिताको उद्घाटन हुने आयोजक एन्फा सुनसरीका अध्यक्ष नवीन राईले बताउनु भएको छ । उहाँका अनुसार सुनसरी भरीका जम्मा ३२ वटा टिम सहभागि हुने भएका छन् । प्रतियोगितामा विजेता टिमले नगद २० हजार,उप विजेता टिमले नगद १५ हजार पुरस्कार पाउने छन भने तेश्रो हुने टिमलाई नगद १० हजार र चौथो हुने टिमले नगद ७ हजार पुरस्कार पाउने भएका छन् । 

प्याव्सन सुनसरी र एन्फा सुनसरीले फुटवल खेलको विकासमा स्कुलदेखि नै गर्ने उद्देश्यले प्रतियोगिताको लागि सम्झौता गरेर आयोजना गरिएको प्याव्सन सुनसरीका अध्यक्ष अनुप योञ्जनले बताउनु भएको छ । उहाँका अनुसार एन्फासँग दुई वर्षको लागि सम्झौता गरि आयोजना गरिएको हो । 

पत्रकार सम्मेलनमा एन्फा कोशी प्रदेशका अध्यक्ष किशोर राईले प्याव्सनसँग मिलेर प्रतियोगितालाई प्रदेश स्तरीय वनाउन सकिने वताउनु भएको छ । मुख्यतः प्रतियोगिता आयोजना गर्नको निम्ति प्रायोजकको भुमिका नै महत्वपुर्ण हुने भएकाले त्यस तर्फ पनि ध्यान दिन सझाव दिनु भएको छ ।