धरान / संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । बिहान ११ बजे निजी निवास बालुवाटारबाट शवयात्रासहित पशुपतिस्थित आर्यघाटमा पुर्‍याएर हिन्दू तथा लिम्बू परम्पराअनुसार नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टि गर्ने गरी सरकारले तयारी गरेको छ । पूर्वसभामुख समेत रहनुभएका नेम्वाङको शवयात्राको लागि रुट तय भएको छ । नेम्वाङको शवयात्राका लागि बालुवाटारस्थित निवासदेखि पशुपति आर्यघाटसम्मको रुट तय गरिएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिनुभएको छ ।  उहाँका अनुसार नेम्वाङको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगन्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट तय गरिएको छ । 

श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थीव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिएको थियो । त्यसपछि उहाँको पार्थीव शरीर बालुवाटारस्थित निजी निवासमा राखिएको छ । पार्टी कार्यालयमा चीन भ्रमण छोट्याएर फर्किनुभएका  महासचिव शंकर पोखरेललगायतले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । बुधबार पनि विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू, उच्चपदस्थ अधिकारी, ठूलो संख्यामा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुकलगायत श्रद्धाञ्जलीका लागि एमाले कार्यालय च्यासल पुगेका थिए । 

नेम्वाङका दुवै छोरा नेपाल आइपुग्नुभएको छ । नेपाल आएलगत्तै एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर उहाँहरूले बुबाको मुख हेरी पार्थिव शरीरमा श्रद्धाञ्जली दिनुभएको छ । जेठा छोरा मिङ्सो बेलायतबाट बुधबार नेपाल आइपुगग्नुभएको हो भने कान्छा छोरा सुहाङ मंगलबारै अस्ट्रेलियाबाट आइप’नुभएको थियो । नेम्वाङको निधनको शोकमा बुधबार तोकिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न आज ३ बजेलाई अर्को बैठक तोकिएको छ ।