धरान  / धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा पसेर हातहतिया सहितका समूहले आक्रमण गरेका छन् । आक्रमणमा उहाँका भाई घाइते हुनु भएको छ ।  

धरान १५ स्थित खोरिया बस्तीमा केही अराजक युवाहरु आएर ढुङ्गा–मुढा गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उपप्रमुख बेघाका भाई  विष्णु बेघामाथि आक्रमण भएको स्थानीयले बताएका छन् । उहाँको देब्रे गालामा चोट लागेको छ ।  हतियारसहितका समूहले उपप्रमुख बेघाका घरमा आक्रमण गरेको खबर पाएपछि बेघाले प्रहरीलाई फोन गर्नु भएको बताइएको छ । तर समयमा प्रहरी नआएको उहाँको गुनासो छ । 

घटना पछि इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्ललाई फोन सम्पर्क गरी फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गर्दै प्रहरी नआएको गुनासो उहाँल ेगर्नु भएको छ ।  समयमा प्रहरी नपुग्दा आक्रमण भएको उहाँले बताउनु भयो । 

उपमेयरका स्वकिय सचिव खेम रणपहेलीका अनुसार युवाहरुविच ग्याङ फाइट भएको र उपमेयर ज्युको घरमा पसेर भाई विष्णु बेघालाई आक्रमण गरेको बताउनु भएको छ । दिउसैदेखि युवाहरु विच झगडा भएको बताइएको छ । घटनामा विष्णु र स्थानीय सन्देश घाइते भएका छन् । घट्नामा संलग्न भएको आरोपमा स्थानीय अमित तामाङ  पक्राउ परेका छन् । 

विष्णु बेघाले सन्देशलाई शुरुमा आक्रमण गरेको र पछि सन्देशको ग्याङले उपमेयरको घरमा प्रवेश गरि विष्णुलाई आक्रमण गरेको उपमेयका स्वकिय रणपहेलीले जानकारी दिनु भयो । सन्देश पनि घाइते अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । विष्णुको अवस्था सामान्य भए पनि सन्देश गम्भीर घाइते रहेको उहाँले बताउनु भयो । 

घटनाबारे प्रहरीले अनुसन्धान सुरुगरेकाे छ ।