सङ्खुवासभा  ।  सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा  भएको दुई जना कैदी मृत्यु प्रकरणमा संलग्नहरुसँग आजदेखि वयान शुरु भएको छ ।

हत्या प्रकरणमा जोडिएका १५ जना अभियुक्तसँग आज आइतवार बिहान ११ बजेदेखि बयान शुरु भएको हो । हत्यामा संलग्न भएको अभियोगमा सात प्रहरी र आठ जना कैदीबन्दीविरुद्ध जिल्ला अदालत सङ्खुवासभा चैनपुरमा अस्ति शुक्रवार कर्तव्य ज्यान मुद्दा दायर गरिएको थियो । 

जिल्ला न्यायाधीश टेकनाथ गौतमको इजलासमा कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान शुरु भएको भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिनुभयो । घटनामा संलग्न भएको अभियोग लागेका १५ जनालाई अभियुक्तसँग बयान थालिएको स्रेस्तेदार केसीले बताउनुभयो । अभियुक्तको बयान सकिन तीनदेखि चार दिनसम्म लाग्न सक्ने उहाँको भनाइ छ ।

घटनामा संलग्न १५ जनालाई जिल्ला सरकारी वकिल कार्यालयले  शुक्रवार कर्तव्य ज्यान मुद्दा दर्ता गराएका हुन् । कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।  

त्यस्तै कैदीको मृत्यु घटनामा कारागारमा कैद भुक्तान गरिरहेका आठ जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको छ । चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो । भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर शुरुमा उनीहरूले कुटपिट गरेर यातना दिएको सीसीटीभी क्यामेरा फुटेजमा देख्न सकिन्छ ।

बाहिर कुटेर दुवै जनालाई कारागारभित्र छिराइएको थियो ।गएको साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो । कारागारका तीन कर्मचारीसहित छ जनाविरुद्ध मुद्दा नचल्ने जिल्ला कारागारका तीन कर्मचारी र तीन जना प्रहरीविरुद्ध मुद्दा नचल्ने निर्णय भएको छ ।

निमित्त जेलर राजेन्द्र घिमिरे भदौ ६ गते पक्राउ पर्नुभएको थियो । उहाँलाई त्यही दिन हाजिर जमानीमा छाडिएको थियो । कारागारका सहायक कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्की भदौ १३ गते पक्राउ गरिएको थियो । प्रहरी जवानहरू कार्की, विक र सोङमीलाई अनुसन्धानका क्रममा भदौ १४ गते पक्राउ गरिएको थियो । निमित्त जेलर घिमिरेविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका थिए ।

जिल्ला अदालत सङ्खुवासभाले कारागारका तीन कर्मचारी र तीन जना प्रहरीलाई शुक्रवार छाडिसकेको छ । मुलुकी अपराधसंहिता २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ । मुलुकी अपराधसंहिता २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले बताउनुभयो ।