सुनसरी। सुनसरीको दक्षिणवर्ती क्षेत्र बर्जु गाउँपालिका वडा नं  १ मा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुटिएको छ। चोरी नियन्त्रणका लागि खटिएका दुई जना प्रहरीमाथि लुटेरा समूहले आक्रमण गरि हतियार र गोली लुटेर भागेको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

पाँच जनाको संख्यामा रहेको लुटेरा समूहले आक्रमण गरि हतियार र गोली लटेर लगेको हो । बर्जु गाउँपालिका क्षेत्रमा पछिल्लो समय चोरी र लुटपाटका घटना बढेपछि प्रहरीले सादा पोसाकमा प्रहरी जवानबिमल परियार र प्रेम चौधरीलाई परिचालन गरेको थियो । लुटेरा समूहले प्रहरीको साथमा रहेको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको लगेको छ ।

प्रहरीले घटनास्थल नजिकबाट लुटिएको पेस्तोलको छ राउण्ड गोली, म्यागजिन, गोलीको खालीखोका र कटुवा पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली भने बरामद गरेको छ । पेस्तोल भने अहिलेसम्म फेला परेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।