विराटनगर । विराटनगरको साँस्कृतिक पहिचान बनिसकेको राधाकृष्ण रथयात्राको ५५ औं संस्करण आज हुँदैछ । पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको यसपटकको रथयात्राको तयारी व्यापक रहेको छ । ५५ वर्षयता विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिदै आएको छ । 

विराटनगरको राधाकृष्ण मन्दिर तिनपैनीबाट सुरु हुने रथ यात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुदैछ ।

वि।स। १९८८ मा खटयात्राबाट सुरु भएर २०२४ सालदेखि रथयात्रामा परिणत भएको यो धार्मिक उत्सवमा यसपटक नेपाल र भारतबाट श्रद्धालुहरुसहित विभिन्न नगरका मेयरहरु पनि सहभागी बन्दैछन् । आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर महानगर परिक्रमा गराइन्छ । हिन्दू धर्मावलम्बीहरुले विशेष रुपमा मनाउने र उल्लास प्रकट गर्ने विराटनगरको रथयात्रामा अन्य धर्मावलम्बीहरुको पनि उत्तिकै सहभागिता हुने गरेको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार पाँच हजार सुरक्षाकर्मीले रथयात्रालाई सुरक्षा प्रदान गरिरहेका छन् । 

radha-1