सप्तरी / सप्तरीमा एक साता अवधिमा सांसद र मेयर बाउ–छोरा निलम्बनमा परेका छन् । सप्तरी ४ (१) बाट निर्वाचित प्रदेश सभासद् अनिरुद्धसिंह यादव र उनका छोरा सप्तरीकै बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमारसिंह यादव निलम्बनमा पर्नु भएको छ । बाउमाथि हत्या अभियोगमा छानबिन हुँदै छ भने छोरालाई भ्रष्टाचार अभियोगमा मुद्दा चलेको छ । प्रदेश सभा कार्यसञ्चालन नियमावलीको २१(४) अनुसार कुनै प्रदेश सभा सदस्यमाथि प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई पुर्पक्षका लागि थुनामा पठाइएमा थुना अवधिभर निलम्बन रहन्छ । सोही व्यवस्थाअनुसार अनिरुद्ध निलम्बनमा परेका हुन् । सोमबार पक्राउ परेका सांसद अनिरुद्धलाई मंगलबार जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको थियो । उहाँलाई न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । रिताकुमारी चौधरीको जाहेरीले नेपाल सरकार भएको कर्तव्य ज्यान र डाँका मुद्दाका फरार प्रतिवादी अनिरुद्ध घटना भएको १६ वर्षपछि पक्राउ पर्नु भएको थियो । जिल्ला अदालतले अनिरुद्धको हकमा मुद्दा मुल्तबीमा राखिदिने फैसला गरेकामा अब उहाँलाई प्रहरीले पक्राउ गरेपछि मुद्दाको अनुसन्धान सुरु हुने भएको हो । ०६४ असारमा सप्तरीका एक पुरुषको हत्या घटनामा मुछिएका उहाँविरुद्ध किटानी जाहेरी परेपछि फरार सूचीमा रहनु भएको थियो । पछि राजनीतिमा सक्रिय भएर उहाँ गत निर्वाचनमा प्रदेश सभा सदस्यमा विजयी हुनु भएको थियो । सप्तरीको साबिक नेगडा गाविस– ५ मा दीपु भनिने गोविन्द चौधरीको अपहरणपछि गोली हानी हत्या भएको थियो । उक्त मुद्दा अदालत जाँदा अनिरुद्र फरार रहेका कारण जिल्ला अदालतले मुद्दा मुल्तबीमा राखेको थियो । १९ चैत ०६८ मा जिल्ला अदालत सप्तरीले उनको हकमा तत्कालीन मुलुकी ऐनको अदालती बन्दोबस्तीको १९० बमोजिम मुल्तबीमा राख्ने आदेश गरेको थियो । अनिरुद्ध पक्राउ परेसँगै यो मुद्दा मुल्तबीबाट जागेको छ । अब उनीमाथि कर्तव्य ज्यान र डाँका मुद्दामा अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढ्नेछ । यता अनिरुद्धका छोरा तथा बोदेबर्साइन नगरपालिकाका मेयर आतेशसिंह यादवविरुद्ध गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठजनालाई १४ लाख ७१ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै मुद्दाको प्रतिवादी बनाइएको छ । नगरपालिकाबाट ०७७/७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रममा अनियमितता भएको ठहरसहित मुद्दा दायर भएको हो । जसमा नगरपालिकाका पशु विकास अधिकृत अर्जुनप्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र लेखापाल सरोजकुमार मण्डलको समेत संलग्नतामा उक्त परियोजनाको रकम हिनामिना भएको अभियोग लगाइएको छ । नगर प्रमुख आतेशकुमार सिंह, वडा नम्बर ४ का अध्यक्ष रामानन्द चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतसमेतलाई प्रतिवादी कायम गरिएको छ । माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष नीलमकुमारी शर्मालाई पनि सजाय माग दाबीसहित मुद्दा चलाइएको हो । उनीहरूसमेतले परियोजनाका लागि सम्झौता गरे पनि त्यस सम्झौताअनुसार काम नगरेको र झुटो बिल–भर्पाई लिई भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।