काठमाण्डौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले कार्यथलो अभियान सञ्चालन गर्ने भएकोछ । भदौ १६ देखि १८ गतेसम्म पोखरामा सम्पन्न कार्यशाला तथा केन्द्रीय कमिटीको बैठकले असोज ५ गतेदेखि मंसिर ३० गतेसम्म तीन महिने कार्यथलो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 

कार्यथलो अभियान देशभरीका पालिकाको बसपार्क, विभिन्न रुटहरु, वर्कशप, ग्यारेज लगायतका श्रमिकहरुले काम गर्ने स्थलमा सञ्चालन हुनेछ । केन्द्रीय कमिटीका नेतृत्व प्रतिनिधि, प्रदेश नेतृत्व अभियन्ताका रुपमा परिचालन हुने अभियानको अनुगमन जिफन्टका सबै प्रदेश अध्यक्षहरुले अनुगमन र निरिक्षण गर्नुहुनेछ । 

अभियानले संगठनको सदस्यता र नविकरणमा वृद्धि, कमिटी विस्तार श्रमिकहरुको यथार्थ समस्याहरुको पहिचान हुने अपेक्षा गरिएको छ ।  त्यस्तै नेतृत्व तहमा देखिएका अन्तरविरोधहरु र विवादहरुको समाधान हुनेछन् भने कमिटीहरुबीचको तहगत अन्तर्विरोधको अन्त्य र इन्चार्जको भूमिकाका स्पष्टहुने समेत संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनु भयो । 

यही अभियान मार्फत संगठनमा सम्भावनायुक्त नयाँ पुस्ताका युवा, महिलाहरुको पहिचान ग।री भावी नेतृत्वका रुपमा विकास हुने अपेक्षा गरिएकोछ ।  संगठनले फेरिएको यातायात श्रम क्षेत्र, सुधारका लागि हाम्रो भूमिका विषयक कार्यशालामा देशभरीका अगुवा नेतृत्वलाई सहभागी गराइ दुईदिन छलफल गरेको थियो भने कार्यशालाबाट आएको निष्कर्षलाई संगठनको तेस्रो बैठक मार्फत वार्षिक कार्यक्रम बनाएको छ । 

वार्षिक कार्यक्रममा १३ हजार ३ सय २५ नयाँं सदस्यता वितरण गर्ने र १७ हजार १ सय ४० सदस्यहरुलाई नविकरण सहित एक वर्षमा ३० हजार ४ सय ६५ यातायात श्रमिकहरुलाई समेट्ने लक्ष्य राखेकोछ । कार्यशालामा जिफन्ट सातवटै प्रदेश कमिटीका अध्यक्षहरु, संगठनका पूर्व अध्यक्षहरु समेत पर्यवेक्षकका रुपमा सहभागी रहनु भएकोछ ।  जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले उद्घाटन गर्नु भएको कार्यशालाको सहजीकरण जिफन्ट उपाध्यक्ष विदुर कार्की र नरनाथ लुँइटेलले गर्नु भएको थियो ।