काठमाण्डौ । देशैभर डेङ्गु संक्रमण घट्नुको सटटा बढ्दो मात्रमा देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म २१ हजारभन्दा वढीलाई सङ्क्रमण पुष्टि भएको छ ।

 रोग नियन्त्रण महाशाखाका अनुसार देशैभर मध्ये  सबैभन्दा धेरै सुनसरीमा डेङ्गु संक्रमण देखिएको छ ।सबैभन्दा धेरै सुनसरीमा डेङ्गु संक्रमण देखिएको छ । हाल सम्म सुनसरीमा ११ हजार छ सय ५९ जना संक्रमति छन् । सुनसरी पछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाण्डौमा चार सय २७, धनकुटामा तीन सय ३६, सङ्खुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४, ललितपुरमा एक सय ७४ जना डेङ्गी बिरामी भेटिएको जनाइएको छ ।

संक्रमण रोकथामको प्रभावकारिता देखिएन 

 डेङ्गु सङ्क्रमण रोकथामका लागि गरिएको काम  प्रभावकारी देखिएको छैन । महाशाखाले यसअघि नै भदौ र असोजमा डेङ्गीको सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । तर रोकथामको प्रयास प्रभावकारी नहुँदा सङ्क्रमण थप फैलिने जोखिम बढेको छ ।

सरकारले कार्ययोजना नै बनाएर त्यसैअनुसार डेङ्गी रोकथाम र नियन्त्रणका लागि सङ्घ, प्रदेश र पालिकाका साथै अस्पताललाई निर्देशन दिए पनि मुख्य गरी लार्भा खोज र नष्ट गर अभियान प्रभावकारी हुन नसकेको हो ।

डेङ्गी रोगको रोकथाम र उपचारका लागि घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएको महाशाखाले जनाएको छ । कार्ययोजनामा डेङ्गी सचेतनाका लागि विद्यालय शिक्षा र घरदैलो कार्यक्रम गर्ने उल्लेख छ । यसैगरी जोखिम नक्साङ्कन तथा हट–स्पट पहिचान गर्ने, डेङ्गी सेरोटाइपको पहिचान, लामखुट्टेमा डेङ्गी भाइरसको आइसोलेसन गर्ने, अस्पतालमा डेङ्गी रोगको चापका आधारमा ज्वरोको स्क्रिनिङका लागि ज्वरो क्लिनिकल सञ्चालन गर्ने, डेङ्गी रोगको निदानका लागि आवश्यक किटको व्यवस्था गर्ने समेत उल्लेख छ ।

 सन् २००४ देखि डेङुगीको संक्रमण 

नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । अघिल्लो वर्ष सन २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो । स्वास्थ्य मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गर्दै आएको छ ।

सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन पनि आग्रह गरेको छ ।