उदयपुर । निरन्तर वर्षाका कारण उदयपुगढी गाउँपालिका–६ मौवासी खोला नजिकै सडकमा खसेको पहिरोका कारण मदन भण्डारी लोकमार्ग दुई दिनदेखि पुनःअवरुद्ध भएको छ ।

 प्रहरी कार्यलयका अनुसार बिहीबार रातिदेखि आएको निरन्तर वर्षाका कारण शुक्रबार बिहान उदयपुर गढीको मौवासी खोलाको पुल नजिकै मदन भण्डारी लोकमार्ग खण्डमा खोलापारीको माथिल्लो पाखाबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

  लोकमार्गमा सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँबाट पूर्व आउँदै गरेका सवारी साधन जिल्लाको कटारी क्षेत्रमा रोकिएका छन् । पूर्वबाट राजधानी काठमाडाँै हिँडेका सवारी साधन उदयपुरको गाईघाटमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र फुयाँलले बताउनुभयो ।

शुक्रबार बिहानैदेखि अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको भए पनि वर्षाका कारण र ठूलो परिमाणमा सडकमा माथिल्लो खण्डबाट पहिरोसँगै ठूला ढुङ्गासहित लेदो खसेका कारण सडक खुलाउन कठिन भइरहेको सो सडक डिभिजनका प्रमुख डिइ गोपालप्रसाद खकुरेलले बताउनुभयो ।

अझै निरन्तर वर्षा जारी रहेको र पहिरोमा झण्डै पचास मिटर क्षेत्रफलभन्दा बढी सडक खण्डमा माटो र ठूला ढुङ्गा खसेका कारण हटाउन कठिन भइरहेको उहाँले बताउनुभयो ।