धरान । धरान उपमहानगरपालिकाको भानुचौक स्थित घण्टाघरमा काम गर्ने ज्यालादारी श्रमिकलाई पुर्नबहालीको माग गर्दै मेयर हर्कराज साम्पाङलाई दिएको सात दिने अल्टिमेटम पुरा भएपनि वेवास्ता गरेको भन्दै  आजदेखि धरानका मजदुर संगठनहरुले आन्दोलन शुरु गरेका छन् । 

घण्टाघर परिसरमा नै आन्दोलन स्वरुप आज विहान १० वजेदेखि ११ वजे सम्म एक घण्टा धर्ना कार्मक्रम गरेका छन् ।   एक साता अघि घण्टाघरमा कार्यरत ज्यालादारी दुई श्रमिकलाई विनाकारण निकालिएको भन्दै विभिन्न ट्रेड युनियनहरुले मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाएका थिए । 

चेतावनीलाई वेवास्ता गरेपछि बाध्य भएर श्रमिकलाई न्याय दिलाउनको लागि आन्दोलित हुनु परेको संयुक्त ट्रेड युनियन संघर्ष समितीका संयोजक शम्शेर वर्देवाले वताउनु भयो । उहाँले भन्नु भयो,‘आजदेखि आन्दोलन शुरु गरेका छौ,एक घण्टा धर्ना दिएर आन्दोलन शुरु गरेका हौ,भोली घण्टाघरमा नै तालावन्दी गर्ने छौं र पर्सी भानुचौकमा एक घण्टा चक्का जाम गर्ने तयारी रहेको छ । 

हाम्रो मागलाई अझै वेवास्ता गरेको खण्डमा पुनः अर्को आन्दोलनको खाका तयार गर्ने संयोजक वर्देवाले वताउनु भएको छ । नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसले आज संयुक्त रुपमा श्रमिकलाई पुर्नबहालीको माग गर्दै आन्दोलन शुरु गरेका हुन । 

स्थापनाकालदेखि नै धरान २ का नरबहादुर लिम्बु  र धरान १४ का प्रकाश राई माली तथा चौकीदारको रुपमा कार्यरत रहनु भएको थियो ।कार्यरत मजदुरलाई धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले भने उमेरको कारण कामबाट निकालेको वताउँदै आउनु भएको छ ।