धनकुटा । मर्मतसम्हारका लागि बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । 

विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एकमात्र कृषि प्राविधिक पढाइ हुने विद्यालयका नामले चिनिने यो विद्यालय कुनै बेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो । तर अहिले यहाँ निर्मित ४७ भवन जीर्ण अवस्थामा छन् । यस वरिपरिका रमणीय चिया बगान, माछा पोखरीलगायत स्थल अव्यवस्थित छन् ।

बनेका भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको विद्यालयका प्राचार्य शङ्कर कोइरालाले जानकारी दिनुभयो । मर्मतसम्हारका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको उहाँको भनाइ छ । “भवनका विषयमा विद्यार्थीको गुनासो आइरहन्छ”, कोइरालाले भन्नुभयो, “लाइभस्टक र प्रयोगशाला जीर्ण हुँदा प्रयोगात्मक परीक्षा नै रोकिने गरेको छ ।”

हाल विद्यालयको अन्य शीर्षकमा आएको रकमबाट मिलाएर टालटुल गरी शिक्षालय सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो । शिक्षालयको भवन तथा संरचना मर्मत गर्न करिब रु चार करोड जति खर्च लाग्ने प्रचार्य कोइराला बताउनुहुन्छ ।