सुनसरी । मिटर ब्याजबिरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालयमा हालेर धरानका इन्द्र मोक्तानले प्रशासनबाट न्याय पाउनु भएको छ । 

मोक्तानले जिल्ला प्रशासन कार्यालयमा पीडित भएको भन्दै उजुरी हाल्नु भएको थियो । आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरी उपरको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो । पीडित मोक्तानका अनुसार उनले ४ वर्ष अघि धरानकै मणिराज राईबाट ५४ लाख ब्याजमा लिएका थिए ।

आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्स समेत गराई ४ करोड ६० लाख दाबी गरिएपछि मिटर ब्याजमा उजुरी हालेको बताउनु भयो  । परेको ४ करोड ६० लाख दाबी सहितको मिटर ब्याजीबिरुद्धको उजुरी  १ करोड १० लाखमा सल्टाइएको छ । 

मोक्तानले मिटर ब्याजका कारण तनावपूर्ण अवस्था निम्तेपछि सरकारले ल्याएको अध्यादेश बमोजिम न्यायको माग सहित सुनसरी प्रशासनमा उजुरी हालेको बताए । उजुरी उपर छानबिन पश्चात् प्रशासनबाट आफूले न्याय पाएकोमा  खुसी व्यक्त गर्नु भयो ।

यता सुनसरी प्रशासनले उक्त उजुरी छानबिन गरी टुङ्ग्याएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्राप्त कागजात र यथेष्ट प्रमाणका आधारमा मिटर ब्याजीबिरुद्धको उजुरी उपर छिनोफानो गरी टुङ्ग्याइएको बताउनु भयो । प्रजिअ पाण्डेले उजुरीसँग सम्बन्धित यथेष्ट प्रमाण जुटाउन सके पीडितले सहजै न्याय पाउने बताउनु भयो । 

पाण्डेले जिल्लामा ५ सय बढी मिटर ब्याजका उजुरी परेको र छानबिनको क्रममा रहेको समेत जानकारी दिनु भयो ।  जिल्ला प्रशासन कार्यालयबाट अहिले २ सय भन्दा बढी उजुरीहरूको छानबिन गरिरहेको उहाले बताइउनु भयो ।