भोजपुर । जिल्ला अदालत भोजपुरको भवन जीर्ण बन्दा सेवा प्रवाहमा कठिनाइ भएको छ । अदालतको ४१ वर्ष पुरानो भवनबाट हाल सेवा प्रवाह गर्न समस्या भएको छ ।
विसं २०४५ र २०७२ को भूकम्पका कारण भवन चर्किएको भए पनि यसैलाई मर्मत गरेर सेवा प्रवाह गरिँदै आएको अदालतका श्रेष्तेदार मोहन घिमिरेले जानकारी दिनुभयो । भूकम्पका कारण अदालतका धेरै संरचना जीर्ण छन् । पुरानो शैलीमा निर्माण भएको भवनबाट सेवा प्रवाह गर्दा दैनिक कार्य सम्पादनमा समेत समस्या रहेको घिमिरेले बताउनुभयो ।
पार्किङ सुविधा नहँदा पनि बढी समस्या रहेको उहाँको भनाइ छ । कुनै मुद्दामा प्रतिवादीको सङ्ख्या धेरै भएको अवस्थामा कार्यालय परिसरमा उनीहरुलाई व्यवस्थापन गर्न समस्या रहेको छ । “पुरानो भवनका कारण सेवा प्रवाहमा समस्या छ”, घिमिरेले भन्नुभयो । छानो फेरेर सेवा प्रवाह गरिँदै आएको छ । भवन जीर्ण बनेको कारण यहाँका महत्वपूर्ण फाइल राख्न समस्या हुने गरेको छ । राम्रो कोठा नहुँदा इजलास सञ्चालनमा समेत कठिनाइ हुने गरेको उहाँ बताउनुहुन्छ ।
जग्गा खरिद गर्ने काम भए पनि भवन बनाउन बजेट अभाव रहेको श्रेष्तेदार घिमिरेको भनाइ छ । जिल्ला अदालतले हेर्न मुद्दाको क्षेत्र बढेसँगै न्यायका लागि अदालतसम्म आउने सेवाग्राहीको सङ्ख्या पनि बढेको छ ।
अदालतमा मुद्दाको सङ्ख्यामा बर्सेनी वृद्धि भइरहेको जिल्ला न्यायाधीश मनिराम न्यौपानेले बताउनुभयो । एकचालीस वर्ष पुरानो भवन रहेकाले अहिलेको सेवाग्राहीको चापलाई धान्न समस्या रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कतिपय मुद्दामा धेरै प्रतिवादी हुन्छन् । त्यस्तो अवस्थामा व्यवस्थापन गर्न कठिन हुने गर्छ । कार्यालय परिसर साँघुरो हुँदा आवतजावतमा पनि समस्या छ ।”
करिब डेढ रोपनी क्षेत्रफलमा बनेको दुई तले पुरानो भवनमा आठ कोठा छन् । नयाँ भवन निर्माणका लागि अदालतसँग सीमा जोडिएको चार रोपनी जग्गा खरिद गरिएको छ ।