धरान। धरान उपमहानगरपालिकाको मेयर हर्कराज साम्पाङले धरानलाई डेङ्गु नियन्त्रण गर्न स्वास्थ्य आपतकालिन घोषणा गर्न अहिले आवस्यक नभएको वताउनु भएको छ । बुधबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङले अहिले नै स्वास्थ्य संकटकाल घोषणा गरेर केही नहुने भन्दै जनता आफै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा लाग्नु पर्ने वताउनु भएको हो  ।   

पत्रकारको जिज्ञासामा उहाँले भन्नु भयो,‘धरानलाई स्वास्थ्य आपतकालिन घोषणा गर्न जरुरी छ र ? मैले नबुझेको नी , हैन के हुन्छ घोषणा गर्दैमा ?यो अवस्था आउनु त हामी आफैंले घर आँगन सफा गर्न नसक्नु हो नी , पव्लिक आफैंले पनि गर्नु पर्छ नी ,लाम खुट्टेको लार्भा नष्ट गरौ,मारौ न ।’

मेयर साम्पाङले अव डेङ्गु नियन्त्रण गर्नको लागि हरेक टोलमा समिती वनाएर अघि वढ्ने वताउनु भएको छ । धरान उपमहानगरपालिकाले अव टोल टोलमा समिती वनाएर लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यलाई तीव्र बनाएर डेङ्गु नियन्त्रण गर्ने उहाँको भनाई थियो । 

संघ र प्रदेशको सहयोग भने जति हुन सकेन 

मेयर साम्पाङले धरानमा डेङ्गु विरामीको उपचार  र नियन्त्रणको लागि भने जति सहयोग नगरेको भनेर गुनासो गर्नु भएको छ । डेङ्गुको विरामी हाल ११ हजारभन्दा वढी देखिएको छ , अहिले सम्म स्थानीय सरकारलाई केन्द्रिय सरकारले ५ सय मात्रै किट उपलव्ध गराएको वताउनु भएको छ । स्थानीय सरकारले केन्द्र र प्रदेश सरकारलाई लिखित पत्रचार नै गरेको भएपनि अहिले सम्म वेवास्ता गरेको मेयर साम्पाङले गुनासो गर्नु भएको छ । 

औषधी र जनशक्तिको अभाव 

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले डेङ्गुका विरामीको औषधी उपचारको लागि जन शक्ति र औषधीको पनि अभाव भएको जनाएको छ ।  स्वास्थ्य महाशाखा प्रमुख उमेश महेताले धरानमा डेङ्गुको अवस्थाको वारेमा पत्रकारलाई जानकारी दिने क्रममा सो कुरा वताउनु भएको हो । 

उहाँले भन्नु भयो,‘औषधी उपचारको निम्त स्वास्थ्यकर्मीको अभावसँगै औषधी पनि अभाव भएको छ, हामीकहाँ ७० जना जनशक्ति रहेका छौं र सक्रिय रुपमा ६५ जना स्वास्थ्यकर्मी दैनिक फिल्डमा खटिरहेको छौं । त्यसैले अझै पनि यो समस्या हल नहुन्जेल सम्म  अझै जनशक्ति र थप स्वास्थ्य सामाग्री आवस्यक हुने देखिएको छ।’

डेङ्गुले हाल सम्म २ जनाको मात्रै मृत्यु 

डेङ्गु विरामकै कारण हाल सम्म २ जना विरामीको मात्रै मृत्यु भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।  हाल सम्म ११ जना भनिएकोमा उनीहरुको मृत्यु अन्य विरामको कारण भएको स्वास्थ्य महाशाखा  प्रमुख मेहताले वताउनु भयो । उहाँले भन्नु भयो,दीर्घ रोग लागेकाहरु मरेका छन्,तर हाल सम्म २ जना मात्रै डेङ्गुको कारण मृत्यु भएको हो ।’तर हाल सम्म धरानमा ११ जनाले डेङ्गु सक्रमणको कारण नै मृत्यु भएको वताइएको छ ।