संखुवासभा । जिल्ला कारागार संखुवासभामा दुई जना कैदीबन्दीको मृत्युको विषयलाई लिएर आज दिनभर कारागार तनावग्रस्त भएपछि   घटनाको छानबिन गर्न समिति गठन भएको छ ।

सो घटनाको छानबिन गर्न संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । यहाँको जिल्ला कारागारमा रहेका दुई बन्दीको आज बिहान मृत्यु भएको थियो । मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकास बलामी रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनु भयो  ।

गए राति १ बजे कारागारको चर्पीबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डिएसपी गोदारले बताउनु भयाे  । उनीहरु बिहान ४ बजे कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्तालमा पुर्‍याइएको र सोही अस्पतालमा उनीहरुको मृत्यु भएको जेलर राजेन्द्र घिमिरेले बताउनु भएको छ ।

अन्य बहुसंख्यक कैदीको कुटाइबाट दुई जना कैदीको मृत्यु भएपछि अहिले कारागारा प्रशासनको अवस्था तनावग्रस्त बनेको हो । कैदीबन्दीले प्रहरीमाथि ढुंगामुढा गरेका िथए  । मंगलबार राति कारागारको झ्यालको रड तोडेर भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेर फेरि कारागारमा लगेको थियो । तर उनीहरुलाई अन्य कैदीले कुटपिटपछि ज्यान गएको हो ।

बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बसी छानबिन समिति गठन गरेको हो । घटनाको छानबिनका लागि समिति गठन गरिएको र छिट्टै सत्यतथ्य बाहिर आउने प्रजिअ शिवकुमार कार्कीले जानकारी दिनु भयो  ।