धरान । डेङ्गले जनजीवन अस्तव्यस्त हुँदै गएपछि व्यापारीहरुको साझा संगठन सुनसरी उद्योग वाणिज्य संघ धरानमा पनि डेङ्गुका विरामीहरुको उपचार गर्नको लागि व्यवस्था मिलाइएपछि आज देखि उपचार शुरु भएको छ । 

धरानवासीको जीवनरक्षा र यो डेङ्गुको महामारीमा सुनसरी उद्योग वाणिज्य संघको पनि उतरदायित्व भएकाले विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर हिजो  संघकै सभाहलमा उपचारको लागि सम्पूर्ण व्यवस्थापन गरेर आजदेखि उपचार शुरु गरिएको संघका अध्यक्ष विजय श्रेष्ठले वताउनु भएको छ । 

उहाँका अनुसार अव संघले यो डेङ्गुको महामारी नियन्त्रण र जनजीवन रक्षाको निम्ति सवैसँग समन्वय र सहर्काय गरि भुमिका खेल्ने वताइएको छ ।  हाललाई विरामीको उपचारको लागि भनेर २० वटा बेडको व्यवस्था गरिएको भए पनि विरामीको चापलाई हेरेर ३० वेड सम्म वनाउने तयारी रहेको छ । 

संघले उपचार गर्नको लागि कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धरान उपमहानगरपालिका र केएचडिसी संस्थाको सहयोगमा डेङ्ग विरामीको लागि निशुल्क औषधी उपचारको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले वताउनु भयो ।

उहाँले भन्नु भयो,‘यो महामारीलाई नियन्त्रण नगरुन्जेल सम्म संघमा उपचारको व्यवस्था हुनेछ,विरामीलाई सवै प्रकारको औषधी उपचारको व्यवस्था निशुल्क मिलाइएको छ,अव हामी उद्योग वाणिज्य महासंघसँग पनि समन्वय र सहयोगद्धारा झुल र लामखुट्टेबाट जोगिनको लागि जीउमा दल्ने मल्हम पनि वितरण गर्ने तयारीमा रहेका छौ।’ हिजो संघले प्रतिष्ठानका प्रा.डा. संजीव शर्मा सहितको टोलीद्धारा स्वास्थ्य शिविरको वारेमा अनुशिक्षण पनि दिइएको थियो ।

डेङ्गु मध्यम अवस्थामा रहेका बिरामीलाई प्रारम्भिक उपचार गरी प्रतिष्ठान स्थित डेङ्गु अस्पताल पठाइने व्यवस्था पनि गरिएको सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ । 

फोटो श्रोत –हर्ष शुव्वाको फेसवुकबाट सभार