धरान । धरानमा डेङ्गको महामारीका वेला स्वास्थ्य संस्थाहरुले मनपरी रुपमा डेङ्गु परीक्षण गर्दा चर्को शुल्क लिएको भनेर आम जन गुनासो आएपछि धरान उपमहानगरपालिकाले डेङ्गु परिक्षण गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ । 

उपमहानगरपालिका र ल्याब एसोसियन धरानवीच आज ल्याव परिक्षण गर्दा लाग्ने शुल्क वीच सहमति भएको छ । उप मेयर आइन्द्र बिक्रम बेघाका अनुसार आज भएको दुई पक्षीय सहमति अनुसार अव स्वास्थ्य संस्थाहरुले अधिकतम ५ सय ५० भन्दा वढी शुल्क लिन नपाउने भएका छन् ।

डेङ्गु परिक्षणको लागि भनेर मनपरी मुल्य लिएको भनेर जन गुनासो वढेको र धरान उपमहानगरपालिकाले वजार   अनुगमन  समेत गर्दै आएकाले अव तोकेको मुल्य भन्दा वढी शुल्क लिन नपाउने उप मेयर बेघाले वताउनु भयो । उहाँका अनुसार विरामीलाई औषधी उपचार गर्दा पनि दिइने सलाईन पानी पनि तोकेको मुल्य भन्दा वढी लिन नपाउने र स्वास्थ्यकर्मीले लिने सेवा शुल्क पनि छुट्टै उल्लेख गर्नु पर्ने वताउनु भएको छ । 

उहाँले भन्नु भयो,‘आपसी सहमति भएको छ, तद अनुसार स्वास्थ्य संस्थाहरुले कार्यान्वयन गर्नु पर्छ र कार्यान्वयन भए नभएको हामी उपमहानगरको तर्फबाट निरन्तर रुपमा वजार अनुगमन गर्ने छौ।’

डेङ्गु उपचारको लागि भनेर धरान उपमहानगरपालिकाले धरान ८ स्थित सभागृहमा निशुल्क परिक्षण सेवा शुरु गरिरहेको छ भने धरानको छाता चौक स्थित पुरानो अस्पतालमा विरामीको निशुल्क औषधीको व्यवस्था समेत गरेको छ ।